सरकारी आदेशपछि भारतमा दिलजित दोसान्झको फिल्म ‘सतलुज’ प्रतिबन्ध, रिलिजको ४८ घण्टामै ओटीटीबाट हटाइयो

सरकारी आदेशपछि भारतमा दिलजित दोसान्झको फिल्म ‘सतलुज’ प्रतिबन्ध, रिलिजको ४८ घण्टामै ओटीटीबाट हटाइयो

एजेन्सी : भारतीय चर्चित गायक तथा अभिनेता दिलजित दोसान्झ अभिनित चलचित्र ‘सतलुज’लाई स्ट्रिमिङ प्लेटफर्मबाट अचानक हटाइएका कारण विवाद सुरु भएको छ।

यो चलचित्र पञ्जाबका चर्चित मानव अधिकारकर्मी जसवन्त सिंह खालराको जीवनबाट प्रेरित रहेको छ।

खालराले पञ्जाबमा भएको सशस्त्र विद्रोहका क्रममा मानिसहरूलाई बेपत्ता पारिएको र गैरन्यायिक हत्या गरिएको विषयमा अनुसन्धान गरेका थिए।

पछि उनी आफैँ पनि बेपत्ता भएका थिए र पछि उनको अपहरण गरी हत्या गरिएको पुष्टि भएको थियो। यस हत्या प्रकरणमा पञ्जाब प्रहरीका कैयौं अधिकारीहरू दोषी ठहरिएका थिए।

चलचित्र ‘सतलुज’ गत शुक्रबार भारतीय ओटीटी प्लेटफर्म ‘जी फाइभ’मा रिलिज गरिएको थियो, तर रिलिज भएको दुई दिनमै यसलाई हटाइएको छ।

‘जी फाइभ’ले एक विज्ञप्ति जारी गर्दै ‘हालको परिस्थितिका कारण’अर्को सूचना जारी नभएसम्मका लागि यो चलचित्र भारतमा उपलब्ध नहुने जनाएको छ, यद्यपि त्यो परिस्थितिबारे स्पष्ट खुलाइएको छैन।

चलचित्रका निर्माता ‘आरएसभीपी मुभिज’का प्रवक्ताले सरकारी आदेशका कारण चलचित्र हटाउनुपरेको बताएका छन्। यस विषयमा भारत सरकारले आधिकारिक रूपमा कुनै टिप्पणी गरेको छैन।

दिलजित दोसान्झ र निर्देशकको प्रतिक्रिया
चलचित्र हटाइएपछि सामाजिक सञ्जालमा लाइभ आउँदै अभिनेता दिलजित दोसान्झले आफूलाई चलचित्रमाथि प्रतिबन्ध लाग्छ भन्ने पहिल्यै शङ्का रहेको तर यति छिट्टै हटाइनेछ भन्ने नसोचेको बताए।

उनले भने, ‘मैले सोमबार सरकारी कार्यालयहरू खुलेसँगै चलचित्रमाथि प्रतिबन्ध लाग्न सक्छ भन्ने ठानेको थिएँ, तर आइतबार साँझ नै यस्तो होला भन्ने सोचेको थिइनँ। चलचित्र रिलिज हुने विषयमा अनिश्चितता भएकाले नै हामीले यसको प्रचारप्रसार निकै कम गरेका थियौँ। यदि धेरै प्रचार गरेको भए यो चलचित्र रिलिज नै हुन पाउने थिएन।’

यसैगरी चलचित्रका निर्देशक हनी त्रेहानले यस घटनाप्रति दुःख व्यक्त गर्दै आफू स्तब्ध भएको र कसरी प्रतिक्रिया दिने भन्ने नै थाहा नभएको बताएका छन्।

के थियो चलचित्रको विषयवस्तु?
सन् १९८० को दशकको सुरुवात् देखि १९९० को दशकको मध्यसम्म पञ्जाबमा खालिस्तानको माग गर्दै सिख विद्रोही र भारतीय सुरक्षा बलबीच ठुलो सशस्त्र द्वन्द्व भएको थियो, जसमा हजारौँ मानिसले ज्यान गुमाएका थिए।

त्यस समयमा सुरक्षा बलमाथि गैरकानुनी गिरफ्तारी, बलपूर्वक बेपत्ता र गैरन्यायिक हत्याका आरोपहरू लागेका थिए।

मानव अधिकारकर्मी जसवन्त सिंह खालराले प्रहरीले मृतकका परिवारलाई जानकारी नदिई र कुनै आधिकारिक रेकर्ड नराखी हजारौं शवहरू गोप्य रूपमा जलाएको विषयमा अनुसन्धान गरिरहेका थिए।

अनुसन्धानकै क्रममा सन् १९९५ मा उनी बेपत्ता भए र पछि उनको हत्या गरिएको खुलासा भयो।

चलचित्र सेन्सर बोर्डसँगको लामो विवाद
सन् २०२२ मा निर्माण सम्पन्न भएको यो चलचित्रले भारतको केन्द्रीय चलचित्र प्रमाणन बोर्डसँगको लामो विवादका कारण हलहरूमा रिलिज हुने अनुमति पाउन सकेको थिएन।

सुरुमा यो चलचित्रको नाम सिख इतिहासको एक दुःखद अध्यायसँग जोडिएको पञ्जाबी शब्द ‘घल्लुघारा’ राखिएको थियो। तर, सेन्सर बोर्डको आपत्तिपछि यसको नाम परिवर्तन गरी ‘पञ्जाब ९५’ (जसवन्त सिंह खालरा बेपत्ता भएको वर्ष) राखियो।

चलचित्रलाई लिएर सेन्सर बोर्डले सुरुमा २१ वटा दृश्य काट्न सुझाव दिएकोमा पछि यो सङ्ख्या बढेर १२७ पुगेको थियो। निर्देशक त्रेहानका अनुसार वास्तविकतासँग जोडिएका लगभग सबै सन्दर्भहरू हटाउन बोर्डले दबाब दिएको थियो।

हलहरूमा चलचित्र रिलिज गर्न सेन्सर बोर्डको प्रमाणीकरण अनिवार्य हुने भएकाले निर्माताहरूले यसलाई हलमा रिलिज नगरी सिधै ओटीटी प्लेटफर्ममा ‘सतलुज’ नाम दिएर रिलिज गर्ने निर्णय गरेका थिए।

भारतमा अनलाइन स्ट्रिमिङ प्लेटफर्ममा रिलिज हुने चलचित्रका लागि सेन्सर बोर्डको पूर्वस्वीकृति आवश्यक नभए पनि सरकारले राष्ट्रिय हित र कानुनको आधारमा सामग्री हटाउन निर्देशन दिन सक्छ।

असार २३, २०८३ मंगलबार ०९:५५:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।