‘बाः एक योद्धा’का दुई पोस्टर : सुखी परिवारभित्र अचानक ट्विस्ट!

‘बाः एक योद्धा’का दुई पोस्टर : सुखी परिवारभित्र अचानक ट्विस्ट!

काठमाडौं : मध्यम वर्गीय परिवारको खुसी र त्यसभित्र अचानक आउने उतारचढावको विषयमा केन्द्रित रहेको फिल्म ‘बाः एक योद्धा’को दुई पोस्टर सार्वजनिक गरिएको छ। 

भदौ १९ गते (कुशे औँसीको पूर्व सन्ध्या) प्रदर्शनको तयारीमा रहेको फिल्मले पोस्टरमार्फत कथाको गम्भीरता र पात्रहरूको चरित्र चित्रणबारे जानकारी दिइएको छ। 

निर्माण पक्षले सार्वजनिक गरेका दुई पोस्टरमध्ये पहिलोले एक आदर्श र सुखी परिवारको सग्लो तस्बिर पेस गर्छ। रातो माटोले लिपपोत गरिएको घरको आँगन र परिवारका सदस्यको हँसिलो चेहराले दशैँ ताकाको मध्यम वर्गीय नेपाली परिवेश र पारिवारिक सौहार्दताको झल्को दिन्छन्।

पोस्टरमा दिव्यदेव र झरना थापा अभिभावकको भूमिकामा देखिएका छन् भने सुहाना थापा, सागर खनाल र सुप्रज्ञा शर्माले सन्तानको प्रतिनिधित्व गरेका छन्।

यद्यपि, दोस्रो पोस्टरले भने कथामा आउने ट्विस्टलाई संकेत गर्छ। पहिलो पोस्टरमा देखिएको खुसी दोस्रोमा पुग्दा तनाव, रिस र कौतुहलतामा बदलिएको छ। विशेष गरी माओत्से गुरुङको अनुहारमा देखिएको कुटिल मुस्कानले उनलाई कथाको खलपात्र वा परिस्थिति बिगार्ने पात्रका रूपमा शंका गर्ने ठाउँ दिएको छ। 

यस्तै, झरना र सुहानाको मुहारमा देखिएको भय तथा दिव्यदेव र अनिल बुढाथोकीको आक्रोशले परिवारमा कुनै अनपेक्षित संकट आएको संकेत गर्छ। निर्देशक हरि लम्सालका अनुसार सन्तानको भविष्यका लागि एउटा बुबाले गर्ने त्याग र जीवनभर झेल्ने चुनौती नै फिल्मको मूल मर्म हो। 

बुबाको मुख हेर्ने दिनकै आसपास पारेर प्रदर्शन हुन लागेकाले पनि यसले बाबु र सन्तानबीचको भावनात्मक सम्बन्धलाई नै मुख्य एजेन्डा बनाएको देखिन्छ। 

असार २२, २०८३ सोमबार १८:५५:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।