एउटै गाउँको साझा सपनामा तीन स्टार अभिनेत्रीको संवाद

एउटै गाउँको साझा सपनामा तीन स्टार अभिनेत्रीको संवाद

काठमाडौं : नेपाली हलहरूको पर्दामा लामो समयपछि अघिल्लो पुस्ताका अभिनेत्री गौरी मल्ल, तृप्ति नाडकर र रेखा थापा एकसाथ देख्न पाइने भएको छ। 

आगामी भदौ १९ गते प्रदर्शनको तयारीमा रहेको फिल्म ककाकिकीले सार्वजनिक गरेको फर्स्ट लुक्समा तीन अभिनेत्रीहरूलाई एउटै गाउँको साझा सपना बुनिरहेको पात्रका रूपमा प्रस्तुत गरिएको छ।

करिब तीन मिनेट लामोख भिडियोमा कुलेबारी नामको एउटा काल्पनिक गाउँको परिवेश देखिन्छ। जहाँ अभिनेत्री त्रयसँगै अभिनेता महेश त्रिपाठी एउटा डाँडामा बसेर गाउँको हितका लागि योजना बनाइरहेका भेटिन्छन्। 

संवादहरू सरल छन्, तर तिनले गाउँको विकासका लागि पात्रहरूले गर्नुपरेको संघर्ष र उनीहरूको मनोदशालाई स्पष्ट पारेका छन्। सालिक बनाउने विषयमा केन्द्रित रहेर उनीहरूबीच भएको ठट्यौली संवादले फिल्मको व्यङ्ग्यात्मक पाटोलाई संकेत गरेको छ।

कमेडी दरबारको टिमले माया इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण गरेको फिल्म ककाकिकीलाई बिक्की अगरवाल र श्रद्धा प्रसाईंले संयुक्त रूपमा निर्देशन गरेका हुन्। निर्देशक अगरवालले फिल्मको गुणस्तरबारे धेरै दाबी गर्नुभन्दा पनि यसलाई दर्शकको मूल्यांकनमा छाडिदिने बताउँछन्। 

कलाकार र प्राविधिक टिमको सामूहिक मिहिनतले फिल्मलाई स्वाभाविक बनाउन सघाएको निर्देशक प्रसाईंको अनुभव छ। फिल्ममा दिया मास्के, प्रकाश घिमिरे, शिशिर वाङ्देल, मनोज गजुरेलदेखि नयाँ पुस्ताका रेअर राई र पवन खतिवडा (म्याकुरी) सम्मको अभिनय रहेको छ। 

सुदिप बरालको छायांकन र बिक्की, सरोज भण्डारी तथा विकास अर्यालको लेखन रहेको फिल्मले आफ्नो पहिलो झलकसँगै सार्वजनिक गरेर प्रचारप्रसार सुरु गरेको छ। अन्तर्राष्ट्रिय बजारमा सेभेन सिजले वितरण गर्ने फिल्मको डिजिटल अधिकार ओएसआर डिजिटलसँग रहेको छ। 

असार २२, २०८३ सोमबार १८:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।