‘लालीबजार’ले नौ करोड कमाउँदा ‘जाँड’ हेर्न ६०० दर्शक पनि गएनन्, जितबहादुरको हालत कस्तो?

‘लालीबजार’ले नौ करोड कमाउँदा ‘जाँड’ हेर्न ६०० दर्शक पनि गएनन्, जितबहादुरको हालत कस्तो?

काठमाडौं : करोडौं खर्चेर बनाइएका नेपाली फिल्महरूलाई हलमा दर्शक तान्न यतिबेला हम्मेहम्मे परेको छ। गत वैशाखयता हलको अवस्था हेर्ने हो भने नेपाली फिल्मका लागि ‘दर्शकको खडेरी’ नै लागेको छ भन्दा फरक पर्दैन।

सबैभन्दा दयनीय अवस्था त रमेश उप्रेतीको कमब्याक मानिएको फिल्म ‘जाँड’ को देखिएको छ। असार १२ गतेदेखि प्रदर्शनमा आएको यो फिल्मले ९ दिन हलमा टिक्दा जम्मा ५ सय ६९ जना दर्शक मात्रै तान्न सक्यो।

फिल्ममेकरका लागि यो आँकडा असाध्यै पीडादायक हो। पुराना नृत्य निर्देशक राजु शाहले निर्देशन गरेको यो फिल्मले बक्स अफिसमा जम्मा १ लाख १६ हजार ६ सय ४५ रुपैयाँ मात्रै ग्रस कलेक्सन गरेको छ।

अचम्मको कुरा त के भने, यो कलेक्सन गत वर्ष फ्लप मानिएको राजेश हमालको फिल्म ‘प्रवासी जीवन’ (जसले १ लाख ४४ हजार कमाएको थियो) भन्दा पनि कमजोर हो!

‘आइएम जित बहादुर’ ले पनि जादु देखाउन सकेन
कमेडी कलाकार जितु नेपालले पहिलो पटक निर्माण र मुख्य भूमिका निर्वाह गरेको ‘आइएम जित बहादुर’ को हालत पनि उस्तै नाजुक छ। असार ५ गतेदेखि हलमा लागेको यो फिल्मले बक्स अफिसमा कुनै चामत्कारिक व्यापार गर्न सकेन।

चलचित्र विकास बोर्डको पछिल्लो तथ्यांकअनुसार शनिबारसम्म यो फिल्म ९ हजार ७ सय ४२ जनाले मात्र हेरेका छन्, जसबाट ३१ लाख ३६ हजार १ सय १२ रुपैयाँ ग्रस कलेक्सन भएको छ। वर्षा राउत, प्रियंका कार्की, विजय बरालजस्ता स्टारकास्ट हुँदाहुँदै पनि फिल्मले ३२ लाखको आँकडा छुन सकेको छैन।

‘रोल नं १’ को व्यापार पनि सुस्त
जेठ १५ गतेदेखि हलमा लागेको जोन योञ्जन निर्देशित ‘रोल नं १’ को व्यापार पनि सोचेजस्तो हुन सकेन। मुकुन भुसाल, सुशांक मैनालीलगायतको अभिनय रहेको यो फिल्मले अहिलेसम्म १ करोड ७४ लाख ८५ हजार रुपैयाँको व्यापार गरेको छ।

६९ हजार १ सय ६६ जनाले हेरेको यो फिल्म करिब २ करोडको लगानीमा बनेको हो। तर, लगानी सुरक्षित गर्न अझै साढे चार करोडको व्यापार आवश्यक पर्छ, जुन असम्भव जस्तै देखिन्छ।

सबैलाई उछिन्दै ‘लालीबजार’को राज !
हलमा दर्शक नआएर अन्य फिल्महरू रोइरहँदा, स्वस्तिमा खड्का र रविन्द्र बानियाँ स्टारर फिल्म ‘लालीबजार’ ले भने बक्स अफिसमा तहल्का मच्चाइरहेको छ।

वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको यो फिल्म अझै हलमा चलिरहेको छ। यम थापाको निर्देशन रहेको यस फिल्मले हालसम्म ३ लाख १७ हजार १ सय १२ वटा टिकट बिक्री गर्दै ९ करोड ३२ लाख ९ हजार ९ सय २५ रुपैयाँको ग्रस कलेक्सन गरिसकेको छ।

असार २२, २०८३ सोमबार १४:२४:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।