मंसिर ४ गतेदेखि हलमा जलाकी : सोनाम र उपासनाको केमेस्ट्री कस्तो जम्ला ?

मंसिर ४ गतेदेखि हलमा जलाकी : सोनाम र उपासनाको केमेस्ट्री कस्तो जम्ला ?

काठमाडौं : खुस्मापछि निर्देशक अशोक थापा मगरको अर्को फिल्म 'जलाकी'लाई लिएर यतिबेला सिने वृत्तमा निकै गफगाफ भइरहेको छ।

फिल्ममा अभिनेता धिरज मगरको बहिर्गमन र सोनाम तोप्देनको प्रवेशदेखि प्रदर्शन मितिसम्मका विषय चर्चा र चासोका विषय बने। निर्माण पक्षले आगामी मंसिर ४ गतेलाई प्रदर्शन मिति तोक्दै पोस्टर सार्वजनिक गरेपछि चर्चा थप चुलिएको छ।

धिरज फिल्मबाट बाहिरिएपछि अब अभिनेत्री उपासना सिंह ठकुरीको जोडीको रूपमा सोनाम तोप्देन देखिँदैछन्। युवापुस्तामा यी दुई कलाकारको ‘अनस्क्रिन केमेस्ट्री’ पर्दामा कस्तो देखिएला भन्ने कौतुहलता बढेको देखिन्छ।

के हो जलाकी ?
फिल्मको शीर्षक जलाकी मगर समुदायको पहिचान र आस्थासँग जोडिएको शब्द हो। आस्था, माया र पहिचानको प्रतिकका रूपमा चिनेर ढुंगाले बनाइएको स्तम्भलाई मगर भाषामा ‘जलाकी’ भनिन्छ। 

निर्देशक थापा मगर आफैँ सोही समुदायको भएकाले पनि फिल्मले मगर र गुरुङ समुदायको संस्कृति, परम्परा र जीवनशैलीलाई अझ सशक्त र वास्तविक रूपमा प्रस्तुत हुने अपेक्षा गरिएको छ। यसलाई एउटा मौलिक प्रेमकथाको रूपमा प्रस्तुत गरिएको निर्माण पक्षको भनाइ छ।

कलाकार र प्राविधिक टोली
फिल्ममा सोनाम र उपासनाका साथै शिल्पा मास्के, माओत्से गुरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, रजनी गुरुङ, राजु रेग्मी मगर, उषा खड्की, खड्कबहादुर पुन (खबपु), लुनिभा तुलाधर, संगीता थापा, कर्मा लामा तामाङ, भावना मगर, राज काउचा मगर र दुइसाङ थिनको अभिनय रहेको छ। 

क्याप्टेन विजय लामा विशेष भूमिकामा देखिनेछन् भने मिस सिक्किम साहारा हाङमा लिम्बूले यसै फिल्मबाट अभिनयमा डेब्यु गरेकी छन्। बालकलाकारका रूपमा मुन्जन थापा मगर, नुलाम्मा बान्तावा र रिन्सी धनाहा मगर फिचर छन्।

एम मिडिया प्रोडक्सनको ब्यानरमा निर्माण भएको यस फिल्ममा ओम घर्ती मगर, वीरबहादुर लामा, चन्द्रबहादुर भट्टचन, बेताने मगर (बबिता राना), मानबहादुर धनाहा मगर र सुस्मिता बुढाथोकीले लगानी गरेका छन्। शैलेन्द्र डी. कार्कीको छायांकन रहेको फिल्ममा एसडी योगी र सरित राईको संगीत छ। सुरेन्द्र राना र राम अविरल विष्टका गीतमा एसडी योगी, अञ्जु पन्त, मेलिना राई, रेश्मी पुन मगर र गीताञ्जली थापा मगरको स्वर सुन्न सकिनेछ।

सांस्कृतिक पृष्ठभूमि र नयाँ जोडीको अभिनय रहेको जलाकीले मंसिरको फिल्मी बजारमा कस्तो प्रभाव जमाउला ? त्यो भने प्रदर्शनपछि नै थाहा हुनेछ।

असार २०, २०८३ शनिबार १८:५६:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।