तिहारमै आउने भयो विजय र सनिशाको ‘जिरो डिग्री’
काठमाडौं : विजय बराल र सनिशा भट्टराई अभिनीत फिल्म ‘जिरो डिग्री’ आगामी तिहारमै प्रदर्शन हुने भएको छ। फिल्म सर्ने हल्ला चलिरहेको समयमा निर्माण पक्षले उक्त समयमै फिल्म रिलिज गर्ने दाबी गरेका हुन्।
फिल्मका निर्देशक आकाश बरालले फिल्मको रिलिज मिति कुनै आवेग वा प्रतिस्पर्धा नभई कथा, बजार, दर्शकको चासो हेरेर नै तिहारमा ल्याउन लागेको जानकारी दिएका छन्। उनका अनुसार फिल्मको छायांकन सम्पन्न भएपछि पहिलो चरणको सम्पादन हेरेर नै रिलिजको योजना सार्वजनिक गरिएको हो।
मोती कार्की कार्यकारी निर्माता रहेको यस फिल्ममा विजय बराल, सनिशा भट्टराई, राजन भुसाल, वसुन्धरा भुसाल, रमेश बुढाथोकी, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, सुभाष गजुरेल, रामबाबु रेग्मी, सुवर्ण थापा, सञ्जोग रसाइली, प्रवेश महतरा क्षेत्री, शारदा सिलवाल र सबिना थापा क्षेत्रीलगायत कलाकारले अभिनय गरेका छन्।
मेघौली फिल्म्सको ब्यानरमा निर्माण भएको यस फिल्मलाई लाई गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘बेहुली फ्रम मेघौली’का निर्देशकद्वय साजन काफ्ले र आकाश बरालले संयुक्त रूपमा निर्देशन गरेका हुन्। उनीहरूको यो दोस्रो फिल्म हो। साथै यस फिल्मको लेखन, निर्देशक तथा निर्माता साजन काफ्ले र आकाश बराल नै रहेका छन्।
निशाल पौडेलको छायांकन रहेको यस फिल्ममा चानस पुन मगरको सम्पादन, अंकित बाबु अधिकारीको संगीत, युवराज काफ्लेका गीत, मानस्वी मलालको पाश्र्वसङ्गीत तथा शैलेश श्रेष्ठको साउण्ड डिजाइन र मिक्सिङ रहेको छ। यो फिल्मसँग वसन्त निरौला निर्देशित फिल्म ‘पाँच पाण्डव’ पनि आउँदै छ।
साथै पछिल्लो समय रेखा थापा अभिनीत तथा निर्मित फिल्म ‘३६ को आँकडा’ प्रदर्शनमा आउने चर्चा छ। तर निर्माण पक्षले आधिकारिक रूपमा घोषणा गरेको छैन।
असार २०, २०८३ शनिबार १८:१२:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।