अटिजम र सामाजिक सङ्घर्षको कथामा आधारित 'गौँथली' को ट्रेलर सार्वजनिक
काठमाडौं : पारिवारिक तथा सामाजिक कथावस्तुमा आधारित फिल्म ‘गौँथली’को ट्रेलर सार्वजनिक भएको छ। आगामी साउन १ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको यस फिल्मको ३ मिनेट २० सेकेन्ड लामो ट्रेलर सार्वजनिक भएको हो।
सार्वजनिक ट्रेलरले एउटी युवतीको शिक्षा प्राप्तिको सङ्घर्ष र वैवाहिक जीवनमा आइपर्ने अप्रत्याशित चुनौतीहरूलाई मार्मिक ढङ्गले प्रस्तुत गरेको छ।
फिल्मको मूल कथावस्तु बोकेको ट्रेलरमा अटिजम भएका युवकसँग भर्खरै विवाह गरेकी दुलहीले भोग्नुपरेको पारिवारिक र सामाजिक समस्यालाई देखाइएको छ। स्वास्थ्यका कारण फिल्मका मुख्य पात्र अरुण क्षेत्रीले देखाउने अस्वाभाविक क्रियाकलाप र त्यसको सामना गरिरहेकी सिम्रन खड्काको सङ्घर्षलाई ट्रेलरमा मुख्य स्थान दिइएको छ।
विवाह नगर्ने अडान राख्दा-राख्दै पनि आमाबुवाको आग्रह र पारिवारिक इज्जत धान्न सम्झौता गरेकी एक युवतीले पाउनुपरेको दुःख र उनको पढाइमा घर नै कसरी बाधक बन्छ भन्ने कुरालाई भावनात्मक रूपमा प्रस्तुत गरिएको छ। पुरातनवादी समाज र महिलाले महिलालाई नै सहयोग नगर्दा समाजमा कस्तो असर पर्छ भन्ने गम्भीर विषय पनि ट्रेलरमा देख्न सकिन्छ। ग्रामीण परिवेश र कलाकारहरूको जीवन्त अभिनयले ट्रेलरलाई थप आकर्षक बनाएको छ।
करिब दुई दशकअघि वरिष्ठ चिकित्सक डा. भोला रिजालले 'गौँथली' नाममै फिल्म निर्माण गरेका थिए, जसलाई नेपालको पहिलो ‘गीति फिल्म’ (म्युजिकल फिल्म) मानिन्छ र यसले ५१ औँ दिनसमेत मनाएको थियो। अहिले सोही नाममा डा. भोला रिजालकै छोरा डा. कपिल रिजालले नयाँ कथा र शैलीमा यो फिल्म निर्देशन गरेका हुन्।
गौँथलीमा अरुण र सिम्रनसँगै मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपालीको अभिनय रहेको छ। बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपालीले अभिनय गरेका छन्।
डा. भोला रिजालको कथा रहेको फिल्मको पटकथा तथा संवाद लेखनमा निर्देशक डा. कपिलसँगै निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेले सहकार्य गरेका छन्।
भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको यस फिल्मको कार्यकारी निर्माता सरला रिजाल छिन्। निर्माताको रूपमा सुमन गिरी र डा. कपिल रिजाल छन्। इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली सह–निर्माताको रूपमा रहेका छन्। शम्भुजीत बासकोटा, थानेश्वर गौतम र प्रशान्त सिवाकोटीको संगीत रहेको यस फिल्ममा पाश्र्व संगीत एलिस कार्कीको छ।
गौँथलीलाई हरि हुमागाईंले खिचेका छन्। मिलन श्रेष्ठले सम्पादन गरेका छन्। गिरिराज घिमिरे मुख्य सहायक निर्देशक रहेको यस फिल्ममा आर्यन अधिकारी र बुद्धि नेपाली सहायक निर्देशक, मुकेश शाहको ध्वनि मिश्रण, राजेन्द्र मोक्तानको रङ संयोजन, रामजी लामिछाने र मौसम हिमालीको कोरियोग्राफी रहेको छ।
साउन १ गतेबाट प्रदर्शनमा आउने यो फिल्मलाई रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट, र एफ.डी. कम्पनीले वितरण गर्ने छन्। डिजिटल पार्टनर ‘ओएसआर डिजिटल’ रहेको छ।
असार २०, २०८३ शनिबार १४:०९:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।