भदौ १२ को भिडन्त छल्दै एक साता अगाडि सर्‍यो ‘मास्टर्नी’

भदौ १२ को भिडन्त छल्दै एक साता अगाडि सर्‍यो ‘मास्टर्नी’

काठमाडौं : फिल्म निर्माण सहज भए पनि त्यसको सफल प्रदर्शन गर्नु निर्माताका लागि सधैँ चुनौतीपूर्ण मानिन्छ। फिल्म प्रदर्शनपछि दर्शकको साथ र बक्स अफिसको व्यापारिक आंकडा लगायतका विषयले निर्माताहरूमा सधैँ दबाबमा रहन्छन्।

यही व्यावसायिक जोखिमका बीच अभिनेत्री तथा निर्मात्री प्रियंका कार्कीले आफ्नो फिल्म ‘मास्टर्नी’को पूर्वघोषित प्रदर्शन मिति अचानक परिवर्तन गरेकी छन्। गुपचुप शैलमा फिल्म निर्माण गरेकी प्रियंकाले फिल्मको रिलिज मिति पनि सोही शैलीमा घोषणा गरेकी थिइन्। 

आगामी भदौ १२ गतेलाई फिल्म रिलिज गर्ने भनेर आफू निकटलाई सुनाएकी उनले अन्ततः एक साता अगावै मिति सारेकी छन्। फिल्मको प्रदर्शन मिति नसर्ने भनेर उनले आफू अभिनीत फिल्म‘आइएम जितबहादुर’को प्रेसमिटमा भनेकी थिइन्। तर प्रदर्शनको समय नजिकिँदा उनी आफ्नो अडानबाट पछि हेटेकी छन्।

भदौ १२ गते निता ढुङ्गानाको फिल्म ‘पार्वती’का अलवा ‘बेहुली’, ‘जदौ’पनि प्रदर्शनमा आउँदैछ। यसको दुई दिनअघि कन्नड भाषाको फिल्म ‘टक्सिक’प्रदर्शनमा आउँदैछ। भदौ १० गते प्रदर्शन हुने फिल्मले गर्दा नेपाली फिल्मका निर्माताको मन मुटुमा ढ्याङ्ग्रो बजेको हो।

भदौ ५ गतेलाई नयाँ प्रदर्शन तोकी प्रियंकाको मास्टर्नीलाई भारतीय निर्देशक शुभेन्द्र घोषले निर्देशन गरेका हुन्। यसअघि उनले निर्देशक गरेको फिल्म ‘आइएम जितबहादुर’ सुपर फ्लप भइसकेको छ। फिल्मले हलबाट ३१ लाख हाराहारी ग्रस कलेक्सन गरेको छ। अब उनको दोस्रो निर्देशकीय फिल्मले कस्तो व्यापार गर्दा फिल्म रिलिजपछिको कुरा हो। 

मास्टर्नीमा प्रियंकाका अलवा आर्यन सिग्देल, सरोज खनाल, गौरी मल्ल, प्रमोद अग्रहरी, ऋचा शर्मा, अनुपविक्रम शाही, सिम्रन खड्का, रक्षा थापा, दिनेश काफ्लेलगायतका कलाकारहरूले अभिनय गरेका छन्। अभिनेत्री प्रियंका कार्की निर्माता रहेको यस फिल्ममा क्याबिनेट श्रेष्ठ, आयुष्मान जोशी र प्रनित कार्कीले पनि लगानी गरेका छन्।

आयंका फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्मको कार्यकारी निर्माता सुरक्षा सिंह मलहोत्रा हुन् भने क्रिएटिभ निर्मातामा सिमोस सुनुवार रहेका छन्। प्रियंका आफैले लेखेको यस फिल्मको कथामा पटकथा शान बस्नेतले तयार पारेका छन्। प्रियंकाले कथामा मात्र होइन। 

मास्टर्नीको संवाद शानसँग मिलेर लेखेकी छन्। युवराज इन्दोरियाले खिचेको फिल्मको सम्पादनको काम राजा सिंह सिदुको छ। ब्लकबस्टर फिल्मको ट्याग दिएर घोषणा गरिएको मास्टर्नीलाई नेपाली र हिन्दीसहित ८ भाषामा प्रदर्शन गर्ने निर्माण टिमको घोषणा थियो।

असार १९, २०८३ शुक्रबार १९:१७:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।