प्रदेशको पुनःसंरचनालाई राष्ट्रिय बहसको विषय बनाऔं : रवि लामिछाने

प्रदेशको पुनःसंरचनालाई राष्ट्रिय बहसको विषय बनाऔं : रवि लामिछाने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मुलुकको विद्यमान प्रदेश संरचनालाई बोझिलो हुनबाट जोगाउन आफ्नो पार्टीले पुनःसंरचना गर्नुपर्ने प्रस्ताव अघि सारेको छ। 

शुक्रबार पार्टीका सांसदहरूसँगको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रदेश तहको प्रभावकारितामाथि प्रश्न उठिरहेका बेला यसलाई जनमुखी बनाउन राष्ट्रिय बहसको आवश्यकता औँल्याए।

उनले प्रदेशलाई खर्चिलो प्रशासनिक संयन्त्रका रूपमा मात्र राख्नुभन्दा यसको कार्यशैली र स्वरूपमा सुधार गरी नतिजामुखी बनाउन रास्वपाले संविधान संशोधनको एजेन्डाका रूपमा यस विषयलाई प्रस्ताव गरेको स्पष्ट पारे।

लामिछानेले भने, "प्रदेश संरचनालाई रेट्रोफिट गर्नुपर्छ भन्ने आवश्यकताको महसुस सबैले गरेका छन्। हाम्रो भनाइ प्रदेश संरचनालाई बोझिलो बनाउने होइन, प्रभावकारी बनाउने विषयमा सोच्नुपर्छ भन्ने हो। यसलाई बहसको विषय बनाऔं भनेर रास्वपाले प्रस्ताव गरेको हो।"

संविधान संशोधनको बहसमा प्रदेश संरचना पनि एउटा महत्त्वपूर्ण विषय भएकोले यसमा सर्वदलीय सहमतिका साथ छलफल हुनुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो। 

फरक प्रसंगमा लामिछानेले खोला किनारमा बसोबास गर्ने नागरिकको व्यवस्थापनका क्रममा केही असहजता भए पनि दीर्घकालीन रूपमा यसको सकारात्मक परिणाम देखिने विश्वास व्यक्त गरे। विगतमा खोला आसपासका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने वा वैकल्पिक जग्गा उपलब्ध गराउने विषयमा विभिन्न मोडलमा प्रयास भए पनि ती प्रभावकारी हुन नसकेको उनको भनाइ थियो। 

लामिछानेले भने, "खोला नजिक बसेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने वा अन्यत्र जग्गा दिने प्रयास विगतका वर्षहरूमा विभिन्न मोडलबाट भएका थिए। सबैले यसको आवश्यकता महसुस गरेका थिए, कुनै पनि दल यसको विपक्षमा थिएन। तर ती उपाय प्रभावकारी हुन सकेनन्, त्यसैले अहिले नयाँ प्रक्रिया अपनाइएको हो।"

नयाँ प्रक्रियाबाट नागरिकले केही समयका लागि दुःख पाएको स्वीकार गर्दै उनले त्यसको अन्तिम परिणाम सकारात्मक हुने विश्वास व्यक्त गरे।

लामिछानेले भने, "यसबाट नागरिकलाई दुःख भएन भन्ने म भन्दिनँ। तर यसको परिणाम राम्रो आयो भने अहिलेको दुःख बिर्सिने अवस्था आउँछ। लामो समयदेखि भोग्दै आएको समस्याको तुलनामा अहिलेको दुई-चार महिनाको दुःखपछि उहाँहरूले राम्रो प्रतिफल प्राप्त गर्नुहुन्छ भन्नेमा म निर्धक्क छु।"

असार १९, २०८३ शुक्रबार १८:३१:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।