‘रातो घेरा’मार्फत पर्दामा फर्कियो दयाहाङ र मिरुनाको जोडी

‘रातो घेरा’मार्फत पर्दामा फर्कियो दयाहाङ र मिरुनाको जोडी

काठमाडौं : नेपाली दर्शकमाझ एकदमै रुचाएका जोडी हुन् दयाहाङ राई र मिरुना मगर। कुनै समयमा राजेश हमाल र करिश्मा मानन्धरको जोडीलाई रुचाएझैँ अहिलेको यस जोडीलाई दर्शकको राम्रो साथ देखिन्छ।

दयाहाङ र मिरुना अभिनीत ‘कबड्डी ४’,‘जारी’,‘घरज्वाइँ’ लगायतका फिल्मले निर्मातालाई राह दियो। ‘कबड्डी ४’ले २७ करोडभन्दा माथिको व्यापार गर्दा जारीको व्यापारी आंकडा १९ माथि थियो। 

अहिले यहीँ जोडीलाई लिएर निर्देशक अनिल बुढा मगरको 'रातो घेरा - द रेड सर्कल' निर्माण गर्ने भएका छन्। यहीँ असार २५ गतेदेखि छायांकनमा जाने फिल्मका लागि निर्देशक मगरले दयाहाङ र मिरुनाको जोडी बाँधेका हुन्। साथै, बिहीबार विधिवत् रूपमा पटकथा पूजा गर्दै शुभारम्भ समेत गरिसके।

विश्राम फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको फिल्ममा दयाहाङ र मिरुनाका अलवा रजनी गुरुङ, अरुण पुन, सुनिल पोखरेल, भोला सापकोटा, सुरज तमु, खड्ग बहादुर पुन खबपु, सुस्मिता कुँवर, भावना खपाङ्गी मगर, कविता आले, विजय पौडेल, बल बहादुर गुरुङ, इंगी होपो कोइच सुनुवार, उमेश सुनाम, शेखर चापागाईँ, राम बाबु रेग्मी, सुवास गजुरेल, सुवास सिंह ठकुरी, रमिक सिंह ठकुरी, सुनिल तामाङ तथा डिबी गुरुङ लगायत कलाकारहरूको अभिनय रहनेछ।

सामाजिक तथा भावनात्मक पक्षमा आधारित, सत्य घटनाको कथामा निर्माण हुन लागेको निर्माण पक्षको भनाई छ। फिल्ममा निर्माता जीवन गुरुङ, कविता गुरुङ, भोजेन्द्र गुरुङ (भोज) र सरुन शेरचन रहेका छन्। सह-निर्मातामा सुमन गुरुङ र खेम राना रहेका छन् भने फिल्मका गीतमा संगीत मनोज थापा मगर र सागर आले मगरले तयार गर्नेछन्।

फिल्मका लेखक राजु स्याङ्तान हुन् भने छायांकन शिशिर बिसंखेले गर्नेछन्। निर्माण नियन्त्रण सन्देश राई, कस्ट्युम डिजाइन जानकी कठायत र प्रकाश व्यवस्थापन गुर्केश गुरुङले सम्हाल्नेछन्। वितरण अधिकार काठमाडौंमा काफीया फिल्म्स, बाहिर बाहिर कुवेर सिने डिष्ट्रिब्युसनले लिएका छन्। 

निर्माण टिमले यो फिल्मको प्रदर्शन मिति समेत तोकिसकेका छन्। फिल्मलाई आगामी मंसिर १८ गतेदेखि प्रदर्शनमा आउने निर्माण पक्षको घोषणा छ। 
 

असार १९, २०८३ शुक्रबार १७:००:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।