१०० वर्षअघिको नेपाली समाजको यथार्थ बोकेको टेलिसिरिज ‘यो कथा होइन’ को प्रोमो सार्वजनिक
काठमाडौं : नेपाली समाजको एक शताब्दीअघिको जनजीवन, सामाजिक संरचना र जातीय विभेदको यथार्थलाई पर्दामा उतार्ने उद्देश्यका साथ निर्माण गरिएको नयाँ टेलिसिरिज ‘यो कथा होइन’ को औपचारिक घोषणा तथा प्रोमो सार्वजनिक गरिएको छ।
राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा अनामनगरस्थित डालो रेस्टुरेन्टमा आयोजित एक विशेष समारोहबीच सिरिजको घोषणा र पहिलो प्रोमो सार्वजनिक गरिएको हो। कार्यक्रममा नेपाली कला, मनोरञ्जन तथा सञ्चार क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि एवं वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठले सिरिजको शीर्षकमै 'यो कथा होइन' भनिएकाले यसले समाजको वास्तविक चित्र प्रस्तुत गर्ने विश्वास व्यक्त गरे। निर्देशक श्रीप्रसाद थापाको कामको प्रशंसा गर्दै श्रेष्ठले भने, “नेपाली सिरिजको क्षेत्रमा श्रीप्रसाद थापा लोकप्रिय कलाकार हुन्। उनले गरेका काम उत्कृष्ट हुन्छन्। लाहुरेको करिम बोल गीतमार्फत पनि उहाँलाई धेरै दर्शकले चिन्छन्। यो सिरिज पनि पक्कै उत्कृष्ट बन्नेछ। शिर्षकमै यो कथा होइन भनिएको छ, पक्कै कथा नभएर यो एक वास्तविक कुरा हो भन्ने लाग्छ। मलाई यसको पहिलो भाग हेर्न आतुर लागेको छ। सम्पूर्ण टिमलाई धेरै–धेरै शुभकामना।”
सिरिजका लेखक, निर्देशक तथा मुख्य अभिनेता श्रीप्रसाद थापाले ‘यो कथा होइन’ केवल मनोरञ्जनका लागि मात्र नभई नेपाली समाजको इतिहास र यथार्थलाई उजागर गर्ने एउटा गम्भीर प्रयास भएको बताए।
"धेरै समयपछि आफ्नै कथा लेखन र निर्देशनमा यो सिरिज लिएर आएको हुँ," थापाले प्रष्ट्याए, "यसमा आजभन्दा करिब १०० वर्षअघिको नेपाली समाज, तत्कालीन जीवनशैली, जातीय विभेद र सामाजिक विभाजनको पाटोलाई यथार्थ रूपमा प्रस्तुत गर्ने प्रयास गरिएको छ।"
यस्तै, विशिष्ट अतिथि तथा सिरिजका प्रमुख कलाकार रवि गिरीले हाल बजारमा आउने गरेका अन्य सिरिजहरूभन्दा यसको स्वाद र प्रस्तुति फरक रहेको दाबी गरे। निकै मिहिनेतका साथ निर्माण गरिएकाले दर्शकले यसलाई रुचाउनेमा उनी विश्वस्त देखिए।
सिरिजको कथा लेखन, निर्देशन तथा मुख्य अभिनय श्रीप्रसाद थापाले गरेका छन्। छायांकन सागर खड्का, घरश्याम पोखरेल, शिवशरण न्यौपाने र रोशन पौडेलले गरेका छन् भने भिडियो सम्पादन अशोक चौधरी र रोशन पौडेलको रहेको छ।
असार १८, २०८३ बिहीबार १५:५७:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।