‘गौँथली’ को अनौठो प्रचार शैली : अन्तर्वार्तामै क्यारेक्टर लिभिङ गर्दा दर्शक रनभुल्ल

‘गौँथली’ को अनौठो प्रचार शैली : अन्तर्वार्तामै क्यारेक्टर लिभिङ गर्दा दर्शक रनभुल्ल

काठमाडौं : फरक विषयवस्तु र निर्माण टिमले अपनाएको भिन्न प्रचार शैलीका कारण  फिल्म ‘गौँथली’ले यतिबेला दर्शकको ध्यान तानेको छ।

आगामी साउन १ गतेबाट प्रदर्शनमा आउन लागेको यस फिल्मको हाइप दिनप्रतिदिन बढ्दो छ। बजारमा देखिने परम्परागत शैलीभन्दा केही फरकपन पस्कँदै कलाकारहरूले गरेको मेहनत यतिबेला चौतर्फी रूपमा तारिफयोग्य बनेको छ।

यसको एक गीत सार्वजनिक कार्यक्रममा फिल्मका मुख्य दुई कलाकार अरुण क्षेत्री र सिम्रन खड्का सिनेमाकै गेटअपमा वास्तविक बेहुला र बेहुलीको  भेषमा उपस्थित भएका थिए। यो प्रचार शैली त्यतिमा मात्र सीमित रहेन। हालै एक टेलिभिजन अन्तर्वार्तामा पनि उनीहरू सोही भेषमा पुगे। 

अन्तर्वार्ताका क्रममा सिम्रनले आफू मात्र १५ वर्षको उमेरमा अटिजम भएको व्यक्तिसँग विवाह बन्धनमा बाँधिन पुगेको बताइरहँदा अरुणले पनि चलचित्रकै 'अटिजम' भएको चरित्रमा पुरै डुबेर अन्तर्वार्ता दिएका थिए। 

सुरुमा धेरै दर्शकहरू यो वास्तविक घटना र वास्तविक पात्र नै हुन् कि भनेर झुक्किएका थिए। कलाकारहरूको यो जीवन्त प्रस्तुति र नयाँ शैलीले फिल्मलाई धेरै दर्शकमाझ पुर्याउन मद्दत गरेको छ।

गम्भीर सामाजिक विषयमा बनेको फिल्मका कलाकारहरूलाई प्रचारप्रसारमा यस्तो नौलो शैली अपनाउनका लागि निर्देशक डा. कपिल रिजाल र प्रकाश सुवेदीले हौसला दिएका हुन्। पेसाले दन्त चिकित्सक रहेका डा. कपिलले लामो समय बेलायतमा रहेर चिकित्सा क्षेत्रमा काम गरेका थिए, तर कलाप्रतिको रुचिका कारण उनी पछिल्लो समय फिल्म निर्देशनमा आइपुगेका हुन्। 

उनी वरिष्ठ स्त्री रोग विशेषज्ञ, गीतकार तथा चलचित्रकर्मी डा. भोला रिजालका छोरा हुन्। पिताको कलाप्रतिको समर्पण र प्रभावकै कारण उनी निर्देशन क्षेत्रमा भित्रिएका हुन्।

यसअघि डेब्यु निर्देशन रहेको फिल्म ‘ह्यारी कि प्यारी’मा उनले अभिनेता जितु नेपाललाई पहिलोपटक मुख्य नायकको रूपमा ब्रेक दिएका थिए भने यसपटक फेरि जोखिम मोल्दै समाजको संवेदनशील पाटो 'अटिजम'लाई मुख्य विषय बनाएका छन्।

रोचक कुरा के छ भने, ‘गौँथली’ नाममा डा. भोला रिजालले करिब दुई दशकअघि नै एक फिल्म निर्माण गरेका थिए, जसलाई नेपालको पहिलो ‘गीति फिल्म’ (म्युजिकल फिल्म) मानिन्छ र उक्त फिल्मले प्रदर्शनको ५१औँ दिन मनाउन सफल भएको थियो। अहिले सोही ऐतिहासिक नाममा उनका छोरा डा. कपिल रिजालले नयाँ कथा र प्रस्तुतिसहित ‘गौँथली’ निर्देशन गरेका हुन्।

भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको संयुक्त प्रस्तुतिमा बनेको यस फिल्मको कथा डा. भोला रिजालकै रहेको छ भने यसको पटकथा तथा संवाद लेखनमा निर्देशक डा. कपिलसँगै निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेले सहकार्य गरेका छन्।

यस फिल्ममा अरुण क्षेत्री र सिम्रन खड्काका साथमा मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रविन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपाली जस्ता दिग्गज तथा चर्चित कलाकारहरूको अभिनय रहेको छ। बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपालीलाई देख्न सकिनेछ। 

सरला रिजाल कार्यकारी निर्माता रहेको यस फिल्ममा सुमन गिरी र डा. कपिल रिजाल निर्माताका रूपमा छन् भने इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली सह-निर्माता हुन्।

फिल्ममा वरिष्ठ संगीतकार शम्भुजीत बासकोटा, थानेश्वर गौतम र प्रशान्त सिवाकोटीको संगीत रहेको छ भने पाश्र्व संगीत एलिस कार्कीले तयार पारेका हुन्। हरि हुमागाईंले खिचेको गौँथलीलाई मिलन श्रेष्ठले सम्पादन गरेका हुन्।

गिरिराज घिमिरे मुख्य सहायक निर्देशक, आर्यन अधिकारी र बुद्धि नेपाली सहायक निर्देशक, मुकेश शाहको ध्वनि मिश्रण, राजेन्द्र मोक्तानको रङ संयोजन तथा रामजी लामिछाने र मौसम हिमालीको कोरियोग्राफी फिल्ममा समावेश छ। 

गौँथलीलाई रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफ.डी. कम्पनीले देशभर वितरण गर्दैछन् भने यसको डिजिटल पार्टनरका रूपमा ओएसआर डिजिटल रहेको छ।

असार १८, २०८३ बिहीबार १४:५६:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।