‘मन विनाको धन २’ मा विपिन कार्कीको इन्ट्री, पूजा शर्मासँग पहिलो पटक जोडी बाँधिँदै
काठमाडौं : टंक बुढाथोकीको निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘मन विनाको धन २’ मा अभिनेता विपिन कार्की अनुबन्धित भएका छन्।
बुधबार फिल्मका निर्माता समेत रहेका बुढाथोकी र अभिनेता कार्कीबीच औपचारिक रूपमा सम्झौता भएको हो। विपिनको भित्रिएसँगै फिल्मको स्टारकास्ट निकै बलियो बनेको छ।
पछिल्लो समय ‘पहाड’ र ‘काजी’ बक्स अफिसमा असफल भएपछि विपिनलाई लिएर बजारमा अनेकौँ टिकाटिप्पणी भइरहेका थिए। अभिनयमा अब्बल मानिए पनि व्यावसायिक रूपमा केही सुस्ताएका विपिनका लागि यो फिल्म एउटा बलियो कमब्याक बन्न सक्ने अनुमान गरिएको छ।
‘मन विनाको धन २’ मा पूजा शर्मा र विपिन कार्की मुख्य भूमिकामा देखिनेछन्। निर्माण पक्षका अनुसार फिल्ममा पूजा र विपिनको जोडी बाँधिनेछ। यी दुई स्टारले स्क्रिन सेयर गर्न लागेको यो नै पहिलो पटक हो। विल्कुलै फरक शैलीका दुई कलाकार एकसाथ आउने भएपछि दर्शकमाझ कौतुहलता थपिएको छ।
फिल्ममा पूजा र विपिनका अलावा महेश त्रिपाठी, सरोज खनाल, अशोक दर्जी, आरएन बुढाथोकी र किरण केसी यसअघि नै फाइनल भइसकेका छन्।
यो फिल्म बक्स अफिसमा सफल मानिएको ‘मन विनाको धन’ को सिक्वेल हो। पहिलो भागमा मुख्य भूमिकामा रहेका नीता ढुङ्गाना र बुद्धि तामाङ भने सिक्वेलमा अटाएका छैनन्।
टंक बुढाथोकी प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको यो फिल्मको कथा स्वयं निर्देशक बुढाथोकीले लेखेका हुन् भने पटकथा तथा संवाद लेखन शिवम् अधिकारीको रहेको छ। सामाजिक कथावस्तुमा आधारित यस फिल्मको हाल प्रि-प्रोडक्सनको काम भइरहेको छ। निर्माण पक्षले फिल्मको छायांकन सुरु हुने मिति र प्रदर्शन मिति भने सार्वजनिक गरेको छैन।
असार १७, २०८३ बुधबार १८:३२:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।