सेयरमा ठगिएका विपिन - बजारमा करोडको हल्ला, कलाकारलाई 'हात लाग्यो शून्य'

सेयरमा ठगिएका विपिन - बजारमा करोडको हल्ला, कलाकारलाई 'हात लाग्यो शून्य'

काठमाडौं : अभिनेता विपिन कार्कीले अभिनय गरेका फिल्म पछिल्लो समय बक्स अफिसमा कमजोर देखिएका छन्। उनका हालै प्रदर्शनमा आएका ‘पहाड’ र ‘काजी’ जस्ता फिल्मले घरेलु बक्स अफिसमा एक करोड रुपैयाँको समेत व्यापार गर्न सकेनन्। फिल्म लगातार असफल भएपछि उनलाई 'फ्लप फिल्मको हिरो' भन्दै उनको अभिनयभन्दा व्यावसायिक पक्षलाई लिएर आलोचना गर्नेहरूको जमात बढ्न थालेको छ।

नेपाली फिल्म क्षेत्रमा महँगा पारिश्रमिक लिने अभिनेताको लिष्टमा उनै विपिन कार्कीको नाम छ। उनले एउटा फिल्म खेलेबापत ३५ लाखदेखि ५० लाख रुपैयाँसम्म बुझ्ने गरेको बजारमा हल्ला छ। 

मङ्गलवार चलचित्र विकास बोर्डको २६औँ वार्षिकोत्सव समारोहमा उपस्थित भएका विपिनलाई मिडियाकर्मीहरूले यहि प्रश्न सोधे, "तपाईंको पारिश्रमिक बराबर पनि फिल्मले व्यापार गरेन नि?" 

 "तपाईहरुले भनेको ५० लाख पारिश्रमिकको विषयलाई अन्थेटिक मान्न सकिन्न। मैले नलिएको पनि हुन सक्छु। त्यो हल्ला खल्ला मात्रै पनि हुन सक्छ,अथवा हुन पनि सक्छ? यो पारिश्रमिकको विषयमा पछि कुरा गर्छु," विपिनले दोधारे जवाफ दिए।

उनले अगाडी भने, "पारिश्रमिकको बारेमा कतिपय भनिने कुरा हुन्छ। कतिपय मिडियाकर्मीहरुको हल्लाको कुरा हुन्छ। तपाईहरुले त्यहाँबाट कति पाउनु भयो,पाउन बाँकी छ कि छैन? कति चाहीँ पाउनु भयो अन्तमा भन्ने कुराहरु हुन्छन्।"

कलाकारहरूको चर्को पारिश्रमिकका कारण फिल्म निर्माण गर्नै गाह्रो भयो भन्ने निर्माताहरूको गुनासोबारे बोल्दै विपिनले सबैलाई एउटै तराजुमा राखेर हेर्न नमिल्ने तर्क गरे। उनले भने, "यस विषयमा सबैलाई एउटै तराजुमा,पोल्टामा राखेर हेर्न सकिदैन। मेरै कुरा गर्दाखेरि परिस्थिति अनुसार काम गरेको छु। कतिपय सम्बन्धका आधारमा गरिन्छ, कतिपय के का आधारमा  गरिन्छ। मेरै फिल्ममा पनि मैले राम्रे अमाउन्ट लिएको छु र मैले एकदमै सहयोग गरे जस्तो पनि गरेको छु। धेरै उदाहरणहरु रहेका छन्।"

"सेयरमा काम गर्दा हात लाग्यो शून्य"

पछिल्लो समय नेपाली फिल्ममा चल्तीका कलाकारहरू पारिश्रमिकबाहेक नाफाको हिस्सेदार (सेयर) बन्ने ट्रेन्ड चलेको छ। तर, सेयरमा काम गर्दा आफू ठगिएको दुखेसो विपिनले पोखे। फिल्मले करोडौँ कमाएको हल्ला बजारमा चले पनि कलाकारको हातमा भने पैसा नपर्ने गरेको उनले बताए।

विपिनले भने, "सेयरमा बसिएको हुन्छ। फिल्मले यति पैसा कमायो, उति पैसा कमायो भन्ने हल्ला हुन्छ। तर कलाकारको हातमा पैसै पर्दैन। हात लाग्यो सुन्य हुन्छ। खै त मेरो भागको पैसा भनेर माग्यो। कहाँ तपाईलाई पैसा, फाइदै भाको छैन पनि भन्छन्। यस्ता कयौँ घटना भोगेको छु।"

पारिश्रमिक र सम्झौताका विषयमा बाहिर देखिने कुरा र भित्री यथार्थ फरक रहेको भन्दै उनले कलाकारहरू आफ्नै किसिमको पीडामा रहेको समेत बताए।

असार १७, २०८३ बुधबार १७:२९:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।