जापान र अमेरिकापछि ‘आ बाट आमा २’ को मध्यपूर्व राइट्स पनि ‘सोल्ड आउट’
काठमाडौं : आगामी असोज ३० गतेदेखि विश्वव्यापी प्रदर्शनको तयारीमा रहेको निर्देशक चन्द्र पन्तको बहुप्रतीक्षित फिल्म ‘आ बाट आमा २’ को मध्यपूर्वको प्रदर्शन अधिकार पनि बिक्री भएको छ।
निर्माण पक्षका अनुसार जापान, अमेरिका र क्यानडापछि मध्यपूर्वका यूएई, कुवेत, साउदी अरेबिया, कतार, बहराइन र ओमानमा पनि प्रदर्शन अधिकार बिक्री भएको हो।
आर्या इन्टरटेनमेन्टका तर्फबाट निर्देशक चन्द्र पन्त र आशिष इन्टरटेनमेन्टको टोलीबीच यससम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो। यो सम्झौतासँगै मध्यपूर्वको वितरण अधिकार ‘सोल्ड आउट’ भएको छ।
यसअघि यो फिल्मको प्रदर्शन अधिकार जापानका लागि ‘आर एन्ड बी इन्टरटेनमेन्ट’ तथा अमेरिका र क्यानडाका लागि ‘डोको फिल्म्स’ ले महँगो रकममा खरिद गरेका हुन्।
यसअघि चन्द्र पन्तकै निर्देशन तथा निर्माणमा बनेको पहिलो भाग ‘आ बाट आमा’ ले घरेलु बक्स अफिसमा १३ करोड रुपैयाँभन्दा बढीको व्यापार गरेको थियो। चलचित्र विकास बोर्डले आफ्नो २६औँ वार्षिकोत्सवमा यसलाई सर्वाधिक कमाउने चलचित्रको सूचीमा समेत समेटेको थियो। सोही व्यावसायिक सफलताका कारण पनि यसको सिक्वेल प्रति उत्सुकता बढेको हो।
‘दशैँको जमरा र आमाको पर्खाइको कथा’ भन्ने मर्मस्पर्शी स्लोगन राखिएको यो फिल्म पारिवारिक एवं भावनात्मक कथावस्तुमा आधारित छ।
वैदेशिक रोजगारीका कारण टाढिएका सन्तान र उनीहरूको प्रतीक्षामा जीवन बिताइरहेकी आमाको वेदनालाई चलचित्रले मुख्य विषय बनाएको छ। "आउँछु भन्ने एउटा झुटो आशामा आमाले वर्षौँदेखि जमरा छरिरहेकी हुन्छिन्" भन्ने फिल्मको भावनात्मक संवादले कथावस्तुप्रति थप उत्सुकता जगाएको छ।
आर्या इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको यस फिल्ममा पल शाह, मलिका महत, विपना थापा,प्रदीप रावत,आकाश श्रेष्ठ, रिस्ता गुरुङ, निकिता आचार्य, सबिन श्रेष्ठ, विपना थापा, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित बिष्ट,नरेन खड्का लगायतको को मुख्य भूमिका रहेको छ।
निर्देशक पन्तकै लेखन र पटकथा रहेको यस चलचित्रका मुख्य व्यवस्थापक (प्रोडक्सन म्यानेजर) करणसिंह रसाली हुन्।
आगामी असोज ३० गते (दशमीको भोलिपल्ट) देखि विश्वव्यापी प्रदर्शनमा आउन लागेको यस फिल्मलाई नेपालमा ‘आरआर फिल्म्स’ ले वितरण गर्दै छ भने डिजिटल अधिकार ‘ओएसआर डिजिटल’ ले सुरक्षित गरेको छ।
असार १७, २०८३ बुधबार १३:२०:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।