बोर्डिङ भइसकेका यात्रु ओरालेर नेपाल एयरलाइन्सको नारिता उडान स्थगित, काठमाडौं फर्किन जापानमा कुरिरहेका यात्रु अलपत्र

बोर्डिङ भइसकेका यात्रु ओरालेर नेपाल एयरलाइन्सको नारिता उडान स्थगित, काठमाडौं फर्किन जापानमा कुरिरहेका यात्रु अलपत्र

काठमाडौं : नेपाल वायुसेवा निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जापानको नारिताका लागि उड्न लागेको विमानमा प्राविधिक समस्या आएपछि बोर्डिङ भइसकेका यात्रुहरूलाई ओरालेको छ।

राति साढे २ बजे उड्न लागेको विमानमा प्राविधिक गडबढी देखिएपछि यात्रुहरूलाई लामो समय विमानभित्रै राखेर अन्ततः ओरालिएको हो।

सोही विमानबाट नारिता जान लागेकी गैरआवासीय नेपाली संघकी एसिया प्यासिफिक संयोजक संगीता अधिकारी सुवेदीका अनुसार यात्रुहरू जहाजभित्र बसिसकेपछि प्राविधिक गडबढी भएको जानकारी गराइएको थियो। धेरैबेर जहाजभित्रै राखेपछि अन्ततः यात्रुहरूलाई ओरालेर होटलमा लगिएको उनले बताइन्।

काठमाडौंबाट नारिताका लागि उडान हुन नसकेपछि नारिताबाट काठमाडौँ फर्किन विमानस्थलमा पर्खिरहेका यात्रुहरूसमेत ठुलो मर्कामा परेका छन्।

प्रवक्ता भन्छन्: ‘आज रातिसम्म नारिता पठाउने तयारी छ।’

नेपाल एयरलाइन्सका प्रवक्ता देवेन्द्र पुनले विमानमा प्राविधिक समस्या आएपछि यात्रुहरूलाई सुरक्षित रूपमा विमानस्थल नजिकैको होटलमा राखिएको पुष्टि गरेका छन्।

प्रवक्ता पुनले भने, ‘अन्य रुटमा जाने यात्रुहरूका लागि रिरुट (वैकल्पिक उडानको व्यवस्था) गरेर गन्तव्यतर्फ पठाइएको छ। बाँकी यात्रुहरूलाई एयरलाइन्सकै खर्चमा विमानस्थल नजिकैको होटलमा राखिएको छ। उहाँहरूलाई आज रातिसम्म नारिता पठाउने तयारीमा हामी छौँ।’

यस विषयमा नेपाल एयरलाइन्सले हालसम्म पनि सार्वजनिक रूपमा कुनै औपचारिक जानकारी वा सूचना जारी गरेको छैन।

सामाजिक सञ्जाल वा आधिकारिक माध्यमबाट बेलैमा सूचना प्रवाह नगर्दा नारिताबाट काठमाडौँ आउन विमानस्थल पुगेका यात्रुहरू थप अन्योल र सास्तीमा परेका छन्।

असार १७, २०८३ बुधबार ११:५७:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।