‘लालीबजार’ को ५१ दिन : स्वस्तिमाको ‘केक हग’ देखि निश्चलको डान्ससम्म, तर निर्देशकको अनुहारै देखिएन
काठमाडौं : फिल्म हलमा लाग्नै महाभारत भएको अवस्थामा कुनै फिल्मले ५१ दिन मनाउनु आफैँमा चानचुने कुरा होइन।
त्यसमाथि वादी समुदायको विरोध र उच्च अदालतको रिटका कारण रिलिज नै संकटमा परेको ‘लालीबजार’ ले ९ करोड ३१ लाख रुपैयाँभन्दा बढीको व्यापार गरेपछि अभिनेत्री स्वस्तिमा खड्काको खुसीको सीमा कहाँ हुन्थ्यो र!
सोमबार थापागाउँको एक ब्यांकेटमा आयोजना गरिएको फिल्मको ५१औं दिने सेलिव्रेसनमा स्वस्तिमाको अनुहारमा बेग्लै चमक देखिन्थ्यो।
कार्यक्रममा निकै चाँडै पुगेकी स्वस्तिमा अरू बेलाभन्दा फरक र निकै फुरुङ्ग देखिन्थिन्। केक काट्ने बेलामा त उनी केकलाई नै अँगालो हालूँला झैँ गरेर पोज दिइरहेकी थिइन्।
कतिपयले यो सफलता सपना जस्तो लागेर स्वस्तिमा दंग परेकी हुन् भनिरहेका छन् भने कतिपयले फिल्मको व्यापारमा उनको आफ्नो मुनाफाको हिस्सा भएकाले खुसी दोब्बर भएको कानेखुसी गरेका छन्।
वैशाख १८ को रिलिज मिति सरेर २५ मा पुग्दा रोएकी स्वस्तिमाका लागि यो क्षण कल्पना समेत गरेकी थिइनन् होला। त्यसैले होला उनले उनले पत्रकार र सहकर्मीहरूसँग यो खुसीयाली खुलेरै साटिन्।
श्रीमतीको सफलतामा निश्चलको छमछमी
श्रीमतीको यो ठूलो खुसीमा उनका श्रीमान् तथा निर्देशक निश्चल बस्नेत झनै दंग नहुने कुरै भएन।
निश्चलले स्वस्तिमाको सफलतामा स्टेजमै माइक समातेर रोमान्टिक गीत मात्र गाएनन्, स्वस्तिमासँगै छमछमी नाचेर माहोललाई अझ रमाइलो बनाए।
यति मात्र कहाँ हो र, उनले स्टेजमा कलाकार शिबु पाण्डेसँग पनि कम्मर मर्काएर दर्शकलाई मनोरञ्जन दिए।
यो सबै खुसीयाली र रमाइलो भइरहँदा, फिल्मका मुख्य क्याप्टेन अर्थात् निर्देशक तथा लेखक यम थापा भने कार्यक्रममा कतै देखिएनन्।
फिल्म हिट हुँदा पनि यति ठूलो पार्टीमा निर्देशक नै गायब हुनुलाई फिल्म वृत्तमा निकै चासोका साथ हेरिएको छ।
कार्यकारी निर्माताले भने यम थापा पश्चिमतर्फको एक कार्यक्रममा व्यस्त भएकाले आउन नसकेको भन्दै कुरा सामसुम पार्न खोजेका थिए।
तर, आफ्नै फिल्मको ५१औं दिने उत्सवमा निर्देशक नै नहुँदा भित्रभित्रै केही खटपट त भएको छैन भन्ने खासखुस कार्यक्रममा चलेको थियो।
असार १६, २०८३ मंगलबार १३:४३:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।