गृहमन्त्रीका प्रशसंकले मध्यरातमा फोन गरेपछि अभिनेत्री उषा आक्रोशित, स्क्रिनसट सार्वजनिक गर्दै ‘पुलिस स्टेशनमा डेट गर्ने’ चेतावनी

गृहमन्त्रीका प्रशसंकले मध्यरातमा फोन गरेपछि अभिनेत्री उषा आक्रोशित, स्क्रिनसट सार्वजनिक गर्दै ‘पुलिस स्टेशनमा डेट गर्ने’ चेतावनी

काठमाडौं : नेपाली चलचित्रकी अभिनेत्री उषा रजकले सामाजिक सञ्जालमा मध्यरातमा लगातार फोन गरेर आफूलाई मानसिक तनाव दिएको भन्दै एक पुरुषको च्याटको स्क्रिनसट सार्वजनिक गरेकी छन्।

उनले ‘सन्जोक कार्की’नामका डिजिटल क्रिएटरमाथि फेसबुक म्यासेन्जरमार्फत मध्यरातमा पटक-पटक फोन गरेर दुर्व्यवहार (ह्यारेस) गरेको आरोप लगाएकी हुन्।

उषाले आफ्नो आधिकारिक फेसबुक पेजमा सार्वजनिक गरेको च्याटको स्क्रिनसट अनुसार सन्जोक कार्कीले उनको स्टोरीमा ‘सो लभ्ली’ भनी प्रतिक्रिया दिएको देखिन्छ।

त्यसपछि सोही रातको ३:१९, ४:०४ र ४:२३ बजे लगातार तीन पटक म्यासेन्जरमा अडियो कल गरिएको देखिन्छ।

उषाले ती व्यक्ति वर्तमान गृहमन्त्री सुधन गुरुङको प्रशंसक समेत रहेको उल्लेख गर्दै एउटी महिलालाई मध्यरातमा यसरी लगातार फोन गर्नुको कारणबारे प्रश्न उठाएकी छन्।

उनले यस्ता साना भनिने दुर्व्यवहारलाई बेवास्ता गर्दा भोलि ठूला अपराध निम्तिने भन्दै यसविरुद्ध बोल्नु आफ्नो सामाजिक दायित्व भएको बताएकी छन्।

उषा रजकले आफ्नो पोस्टमा हालै विवादमा परेका गायक सुजन चापागाईंको प्रष्टीकरणलाई लिएर पनि कडा कटाक्ष गरेकी छन्।

केही दिनअघि गायक चापागाईंको एक निजी च्याट सामाजिक सञ्जालमा बाहिरिएपछि उनले आफ्नो बचाउमा लामो प्रष्टीकरण सार्वजनिक गरेका थिए।

सुजनले आफ्नो प्रष्टीकरणमा आफू सुजन चापागाईं एन्ड दि ईन्फिनिटि टुरको क्रममा अस्ट्रेलियामा रहेको र आफ्नो सामाजिक सञ्जाल म्यानेजरहरूले हेर्ने गरेको हुँदा, सोही समयमा कतै दुरुपयोग भएको हुन सक्ने प्रारम्भिक अनुमान रहेको बताएका थिए।

यसै विषयलाई छेडखानी गर्दै उषाले आफ्नो पोस्टमा लेखेकी छन्, ‘फेरि वहाँले ए, फोन मेरो म्यानेजरले चलाएको थियो, बच्चाले खेलिरहेको थियो भन्नुहोला।’

विगतमा आफ्नै रंगमञ्चका गुरुविरुद्ध ‘मी टू’ को आवाज उठाउँदा आफूमाथि लागेका आरोपहरूको स्मरण गर्दै उषाले हिंसाविरुद्ध बोल्ने महिलाहरूको खुट्टा नतान्न आग्रह गरेकी छन्।

उनले दुर्व्यवहारमा परेका अन्य पीडितहरूलाई पनि नेपाल प्रहरीको साइबर ब्युरोमा सम्पर्क गर्न सुझाव दिँदै हेल्पलाइन नम्बर समेत साझा गरेकी छन्।

आफूलाई मध्यरातमा फोन गर्ने सन्जोक कार्कीलाई चेतावनी दिँदै उषाले लेखेकी छन्, ‘सिचुएसन फिक्स गर्नुस्। यदि फेरि मलाई राति फोन गर्न चाहनुहुन्छ भने हाम्रो डेट प्रहरी चौकीमा हुनेछ।’

असार १६, २०८३ मंगलबार ११:४१:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।