मदनकृष्ण र मिथिलाको विशेष भूमिकासहित ‘झिंगे दाउ २’को गीत आउट
काठमाडौं : तीन वर्षअघि बक्स अफिसमा अनपेक्षित रूपमा सुखद व्यापार गरेको फिल्म ‘झिंगे दाउ’को सिक्वेल ‘झिंगे दाउ २’ को नयाँ गीत ‘महिमा आमाको’ सार्वजनिक भएको छ।
आगामी असोज २ गतेलाई प्रदर्शन मिति तोकेको निर्माण पक्षले आफ्नो प्रचार अगाडि बढाउने क्रममा निर्माण पक्षले यो गीत सार्वजनिक गरेको हो।
गीतमा वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र मिथिला शर्माको विशेष भूमिका छ। अतिथिको रूपमा देखिएका यी दुई कलाकारसँगै फिल्मका मुख्य नायक आर्यन सिग्देल, हिउँवाला गौतम, बसुन्धरा भुषाल र चैत्यदेवीको अभिनयले गीतलाई थप अर्थपूर्ण बनाएको छ।
प्रमोद खरेल र मनिषा सुनारको स्वर रहेको यस गीतमा डाक्टर कृष्णहरि बरालका शब्द र अर्जुन पोखरेलको सङ्गीत छ।
निर्माता सुलभ प्रतिक देउजा र समिक्षा देउजाले यस पटक लगानी र मिहिनेतमा कुनै कसर बाँकी नराखेको दाबी गरेका छन्। कोरियोग्राफर रामजी लामिछानेले पनि गीतको भाव अनुसार नै कलात्मक भिडियो तयार पारेका छन्।
यस फिल्ममा केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी, कुशल बिष्ट जस्ता चल्तीका स्टारहरूका साथै पुराना र अनुभवी कलाकारहरूको भिड छ।
असार १६, २०८३ मंगलबार १०:४५:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।