गीत-सङ्गीतमा एआई आतंक बढेपछि साइबर ब्युरोमा उजुरी, ९५ युट्युबर विरुद्ध कारबाहीसँगै क्षतिपूर्ति माग
काठमाडौं : नेपाली पुराना लोक भाकालाई एआईको माध्यममार्फत अडियो तयार पारी युट्युबमा राख्ने विरुद्ध साइबर ब्युरोमा उजुरी परेको छ। सङ्गीतकर्मीहरूको टिमले आइतबार साइबर ब्युरोमा ९५ वटा युट्युब च्यानललाई कारबाहीको माग गर्दै संयुक्त उजुरी दर्ता गरेका हुन्।
एआइको माध्यमबाट स्रष्टाको सिर्जनामाथि भएको डकैतीबारे उकेराले समाचार प्रकाशित गरेको थियो। त्यसपछि स्रष्टाहरू एकीकृत भएर कानुनी उपचारका लागि प्रहरीमा गएका हुन्।
गीतकार तथा मोडल विमल अधिकारीले अरूका गीतलाई एआईबाट अडियो तयार पारेर युट्युबसहितका डिजिटल प्लेटफर्म राखेर व्यापार गर्ने विरुद्ध साइबर ब्युरोमा उजुरी दर्ता गरेको जानकारी दिए।
उनका अनुसार म्युजिकमस्ती, एआई कोर म्युजिक, एआई युनिक नेपालसहित ९५ वटा युट्युब च्यानलविरुद्ध उजुरी दर्ता गरिएको हो।
उनका अनुसार उजुरीमा कार्वाही र त्यसका सञ्चालकहरूबाट क्षतिपूर्ति भराउन माग गरिएको छ। गीतकार समेत रहेका विमलका चर्चित गीत ‘ए होर माया’,‘पछ्यौरी लिस्यो’लगायत दर्जनौँ गीत एआईबाट बनाइएर युट्युबमा राखिएका छन्।
अधिकारीसँगै गीतकार,तथा संगीतकार शिव हमाल,नेत्र अर्याल,नरेश खाती लगायत सर्जकले ब्युरोमा उजुरी दर्ता गरेका हुन्।
सर्जक शिव हमालले एआई प्रयोगगरि पुराना सदाबहार गीतलाई तोडमोड गरेर गायक, गायिका र स्रष्टा सर्जकहरूको पहिचान समाप्त गर्दै अनधिकृत रूपमा आर्थिक उपार्जनमा प्रयोग भएकाले क्षतिपूर्तिको माग समेत गरिएको बताए।
‘जस जसको गीतसङ्गीत लुटिएका छन् उनीहरूले अब क्षतिपूर्ति तिर्न तयार भएर बसे हुन्छ’ उनले भने।
पछिल्लो समय पुराना गीतहरू ‘फूल टिप्ने मन भए’,‘लमजुङे डाँडा हावा सरर’,‘लाली जोबन जान्छ कि हजुर’,’बगैँचामा नजाऊ तिमी’देखि ‘डोको बुन्नु निगाले चोयाले’सम्म मोडिफाई गरेर एआइको माध्यममार्फत निर्माण गरिएको छन्।
कतिपय गीतलाई एआईमार्फत मोडिफाई गरी कलेक्सनका रूपमा समेत युट्युबमा राखेको देखिन्छ। एआईको माध्यममार्फत नयाँ सिर्जना भन्दा पनि पुराना सर्जकहरू बढी मर्कामा परेको देखिन्छ।
असार १४, २०८३ आइतबार २२:२०:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।