५ फरक लुक्समा 'लज्जावती' को क्यारेक्टर पोस्टर : फर्काउला त मुकुन भुसालको क्रेज?

५ फरक लुक्समा 'लज्जावती' को क्यारेक्टर पोस्टर : फर्काउला त मुकुन भुसालको क्रेज?

काठमाडौं :  डेब्यू फिल्म ‘बुलबुल’ मा ‘चोपेन्द्र’ को भूमिकाबाट दर्शकको मन जितेका अभिनेता मुकुन भुसाल पछिल्लो समय सिने वृत्तमा अलि ‘गुमनाम’ जस्तै छन्। अभिनयमा अब्बल हुँदाहुँदै पनि पहिलो फिल्मको जस्तो चर्चा उनले पछिल्ला वर्षहरूमा पाउन सकेका छैनन्।

फिल्म क्षेत्रमा डेब्यु गरेको यो ७ वर्षको अन्तरालमा उनले ‘ऐचो पैचो’, ‘गणपति’, ‘झिँगेदाउ’ देखि ऐतिहासिक ब्लकबस्टर ‘पूर्ण बहादुरको सारङ्गी’ सम्ममा अभिनय गरिसकेका छन्। कतिपय फिल्मले व्यावसायिक रूपमा ठूलो छलाङ मारे, तर जस मुकुनको पोल्टामा खासै परेन। हाल हलमा चलिरहेको उनी मुख्य भूमिकामा रहेको फिल्म ‘रोल नम्बर १’ को चर्चामा समेत निर्माता विनोद पौडेल छन्। अभिनयमा तारीफ पाएपनि चर्चाका हिसाबले मुकुन छायामै छन्।

यसैबीच, मुकुनको मुख्य भूमिका रहेको फिल्म ‘लज्जावती’ को ५ वटा आकर्षक क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ। आगामी साउन २९ गतेदेखि देशव्यापी प्रदर्शनमा आउँने यो फिल्मका पोष्टरमा फरक–फरक चरित्र र लुक्स प्रस्तुत गरिएको छ। निर्माण टिमले ग्रामीण र सहरी दुवै परिवेशलाई समेट्दै फिल्मका विविध आयाम बुझाउने कोसिस गरेको छ।

रोमान्टिक मुड झल्काउने पहिलो पोस्टरमा मुख्य पात्र मुकुन भुसाल र अभिनेत्री जानुका विश्वकर्मालाई प्रेमिल भावमा प्रस्तुत गरिएको छ। यस्तै अर्को 
पोस्टरमा मुकुनको काँधमा कलाकार श्रीकृष्ण निरौला रमाइलो शैलीमा चढेको दृश्य छ। तेस्रो पोष्टरमा भने मुकुनलाई एकदमै गम्भीर र भावुक रूपमा देखाइएको छ। यस्तै अन्य दुई पोष्टरमा श्रीकृष्ण निरौला र मेनुका माझीलाई फिचर गरिएको छ। पोस्टरले सिनेमाप्रति कौतुहलता जगाए पनि फिल्मको वास्तविक कथा र मुकुनको भूमिकाको रहस्य भने अब आउने टिजर र ट्रेलरले नै खोल्नेछ। 

फिल्म ‘सिटामोल’ का लेखक तथा निर्देशक राजबहादुर सानेले यस फिल्मको निर्देशन गरेका हुन्। कथामा खेल्न र पात्रहरूलाई जीवन्त रूपमा छान्न माहिर मानिने सानेको निर्देशकीय कलाले मुकुनलाई फेरि 'बुलबुल' कै चोपेन्द्र जस्तै चर्चाको शिखरमा पुर्याउला त? यो आम दर्शक र समीक्षकका लागि चासोको विषय बनेको छ।

आहा फिल्म्स प्रालिको प्रस्तुतिमा निर्माण भएको यस फिल्ममा मुकुन, जानुका, श्रीकृष्ण र मेनुकाका अलावा वरिष्ठ अभिनेता धीरेन शाक्य, हिउँवाला गौतम, दीपक थापा र विनोद श्रेष्ठको मुख्य भूमिका छ।

सौरभ वली प्रस्तुतकर्ता रहेको यस फिल्ममा कमल प्रसाद शर्मा र सन्दीप कुमार रोकाया निर्माता रहेका छन्।  दिव्यराज सुवेदीको छायांकन, तारा थापा ‘किम्भे’को सम्पादन र देव महर्जनको द्वन्द्वनिर्देशन रहेको यस फिल्मलाई कुबेर सिने डिस्ट्रिब्युसनले देशभर वितरण गर्दैछ।

असार १४, २०८३ आइतबार १३:४८:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।