अभिनयमा ताली, हल जति खाली; लगातार फिल्म असफल भएपछि वर्षालाई 'बाकस'को आशा!

अभिनयमा ताली, हल जति खाली; लगातार फिल्म असफल भएपछि वर्षालाई 'बाकस'को आशा!

काठमाडौं : अभिनयमा जमे पनि अभिनेत्री वर्षा राउतका लागि पछिल्ला बक्स अफिस नतिजा भने सन्तोषजनक देखिन सकेको छैन। गत वर्ष प्रदर्शनमा आएका फिल्म ‘हर्ष’ र ‘मालती मङ्गले’ व्यावसायिक रूपमा सफल हुन सकेनन्।

हालै प्रदर्शनमा आएको हास्य कलाकार जितु नेपालको निर्माण र भारतीय निर्देशक शुभेन्दु राज घोषको निर्देशन रहेको फिल्म ‘आई एम जितबहादुर’बाट वर्षाले व्यावसायिक पुनरागमनको अपेक्षा गरेकी थिइन्। यद्यपि प्रदर्शनको एक साता बितिसक्दा पनि फिल्मले हलमा अपेक्षित दर्शक पाउन सकेको छैन। 

निर्देशक घोषको अनुभव र निर्माण पक्षको मिहेनतका बाबजुद फिल्मको कमजोर व्यवसायले निर्माता तथा कलाकार जितु नेपाल चिन्तित देखिएका छन्। तर, व्यावसायिक असफलताका बावजुद वर्षाको फिल्ममा सक्रियता भने निरन्तर छ। 

उनले सानो वा ठूलो ब्यानर भन्दा पनि काम र दामलाई प्राथमिकता दिइरहेको देखिन्छ। ‘आई एम जितबहादुर’ पछि उनी नवीन पन्तको निर्देशनमा बन्ने फिल्म ‘बाकस’मा अनुबन्धित भएको चर्चा छ। डेब्यु निर्देशकको यस फिल्ममा वर्षा मुख्य भूमिकामा रहनेछन्। यो फिल्म उनको करिअरका लागि कति फलदायी हुन्छ, त्यो भने प्रदर्शनपछि नै प्रष्ट हुनेछ।

व्यावसायिक नतिजा कमजोर रहे पनि अभिनेत्रीका रूपमा वर्षाको अभिनय क्षमतामा भने सुधार आएको देखिन्छ। ‘हर्ष’को तुलनामा ‘मालती मङ्गले’मा उनको कामको प्रशंसा भएको थियो भने ‘आई एम जितबहादुर’मा उनको अभिनयलाई दर्शकले तारिफ गरेका छन्।

फिल्मले दर्शक तान्न नसक्नुमा पटकथा वा अन्य प्राविधिक पक्ष कमजोर हुन सक्ला, तर वर्षाको अभिनय भने सशक्त देखिएको प्रतिक्रिया आइरहेका छन्। साथै, फिल्मको व्यावसायिक सफलताका लागि अभिनयसँगै कथा र पटकथाको छनोटमा पनि उत्तिकै ध्यान दिनुपर्ने सुझाव भने वर्षाको लागि मननयोग्य छ।

यद्यपि उनका आगामी फिल्महरूले व्यवसाय सफलता दिलाउन सक्छन् कि सक्दैन ? प्रतीक्षाको विषय छ।

असार १२, २०८३ शुक्रबार १६:२७:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।