दसैँको डरले असोज २ पुगेको 'झिँगेदाउँ २' लाई जितु नेपालको 'कार्की साइँला' को चुनौती
काठमाडौं : आगामी असोज २ गते नेपाली बक्स अफिसमा दुई ठूला फिल्मबीच रोचक भिडन्त हुने भएको छ। ज्ञानेन्द्र देउजा निर्देशित फिल्म ‘झिँगेदाउँ २’ र राजेन्द्र बस्नेत निर्देशित फिल्म ‘कार्की साइँला’ एकै दिन प्रदर्शनमा आउने भएका छन्।
यसअघि साउन १ गते प्रदर्शन हुने भनिएको ‘कार्की साइँला’ को निर्माण टिमले नयाँ पोस्टर सार्वजनिक गर्दै रिलिज मिति असोज २ लाई तोकेपछि यो भिडन्त निश्चित भएको हो।
निर्देशक राजेन्द्र बस्नेतका अनुसार फिल्मको केही प्राविधिक काम, एउटा गीत र एक दृश्य खिच्न अझै बाँकी छ। यस्तै, जारी विश्वकप र मुख्य अभिनेता जितु नेपालकै अर्को फिल्म ‘आईएम जितबहादुर’ हलमा चलिरहेका कारण फिल्मको रिलिज मिति धकेलिएको हो।
"अलिकति फिल्मको प्राविधिक काम बाँकी नै रहेको छ," उनले उकेरासँग भने, "अहिले वर्ल्डकप चलिरहेको छ भने जितु दाईकै फिल्म प्रदर्शन छ। त्यस कारण पनि हामीले यो फिल्मलाई अलिक पर धकेलेका हौँ।"
यता सोही मितिमा आउन लागेको निर्देशक ज्ञानेन्द्र देउजाको ‘झिँगेदाउँ २’ भने सम्पादन (एडिटिङ) को सम्पूर्ण काम सकिएर प्रदर्शनका लागि पूर्ण रूपमा तयारी अवस्थामा छ। यसअघि दसैंको फूलपातीमा रिलिज हुने भनिए पनि त्यो मितिमा सिनेमा चलाउन निर्माताबीच होडबाजी देखिएपछि सुरक्षित मितिको रुपमा असोज २ रोजिएको निर्माण टिमको भनाइ छ।
३ वर्ष अगाडि रिलिजमा आएको हिट फिल्म 'झिँगेदाउ' को दोस्रो शृंखला 'झिँगेदाउ २' दर्शकको प्रतिक्षारत फिल्म हो। फिल्ममा केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी, कुशल विष्ट, आर्यन सिग्देल, हिउँवाला गौतम, सरोज खनाल, बसुन्धरा भुसाल, चैत्यदेवी सिंह, सङ्गम भण्डारी लगायतको अभिनय रहेको छ।
कपनगढी सिनेमा प्राली र फिल्म क्रिउ नेपालको संयुक्त ब्यानरमा निर्माण भएको फिल्ममा निर्देशक ज्ञानेन्द्र देउजाको नै कथा रहेको छ भने पटकथा परिच्छेद सेन, गोविन्द फुँयाल र शिशिर चालिसेले लेखेका हुन्।
रोशन श्रेष्ठको द्धन्द्व निर्देशन, रामजी लामिछानेको कोरियोग्राफी, अर्जुन पोखरेलको संगीत, मित्र डि गुरूङको सम्पादन रहने फिल्ममा ईश्वर घिमिरे प्रोडक्सन म्यानेजर तथा पासाङ टि शेर्पा र मानिक पाख्रिन कला निर्देशक हुन्।
फिल्मको निर्माता सुलभ प्रतिक देउजा र समीक्षा देउजा हुन्। छायांकन बिष्णु घिमिरे 'कल्पित' ले गरेका छन्।
यता, पूर्वी नेपालको धनकुटा, सुनसरीको वराहक्षेत्र र चतरामा खिचिएको कार्की साइँलाले पुर्वका एक भरियाको जीवन र सङ्घर्षको कथा भन्ने छ। फिल्ममा जितु नेपाल, प्रियना आचार्य ‘मुन्नी’का साथै सुशील पोखरेल, वीरेन्द्र सिंह कुशवाह, मान्शी शर्मा, मनिल तामाङ, रेणुका आचार्य, दिप्सन लिम्बु, रोदा राई र कमल देवकोटा लगायतको अभिनय रहेको छ।
सुरुमा यस फिल्ममा वर्षा सिवाकोटी अनुबन्ध भएकी थिइन्। निर्माण टिमले अघिल्लो बैशाख २० गते बाट सुटिङमा जाने भन्दा भन्दै निर्माण टिमबीच किचलो निस्किएपछि फिल्मको सुटिङ रोकिएको थियो। अन्ततः यस फिल्मको सुटिङ चल्दा वर्षा बाहिरिएकी थिइन्। पछि उनको ठाउँमा हास्य टेलिशृङ्खलाबाट चर्चामा आएकी प्रियना आचार्य (मुन्नी) भित्रिएकी हुन्।
कर्णबहादुर फिल्मस् प्रालिको ब्यानरमा निर्माण भएको यस फिल्मका निर्माता बालकुमार राई हुन् भने कार्यकारी निर्मातामा अनन्त राई हुन्।
कृष्ण भगत चाम्लिङ प्रस्तुतकर्ताका रूपमा रहेको फिल्मको लेखन सबिन अधिकारी र शङ्कर धितालको छ। साथै फिल्ममा किरण दाहालको द्वन्द्व, दिप्सन लिम्बुको सङ्गीत सुन्न सकिने निर्देशक बस्नेतले बताए। काठमाडौं उपत्यकाभित्र काफिया फिल्मस्का तर्फबाट गोविन्द शाहीले र उपत्यका बाहिर कुबेर फिल्मस्ले वितरण गर्दैछन्।
असार १०, २०८३ बुधबार १८:४१:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।