‘आचार्य’को मिति तोक्न निखिललाई सकस !
काठमाडौं : नेपाली फिल्म बजारको हालको अवस्था सुस्केरा हाल्ने खालको छ। वैशाखयता प्रदर्शनमा आएका फिल्ममध्ये ‘लालीबजार’ बाहेक प्रायः सबैले हलमा लगानी डुबाइसकेका छन्।
बक्स अफिसको यो नाजुक हालत देखेर ठुला-ठुला फिल्ममेकरहरू आफ्नो फिल्म रिलिज गर्न हच्किरहेका बेला, एक्सन स्टार निखिल उप्रेती पनि यही चक्रव्यूहमा फसेका देखिन्छन्।
विगत पाँच महिनादेखि कहिले सुटिङ चल्ने त कहिले रोकिने मारमा परेको फिल्म ‘आचार्य’ लाई लिएर निर्देशक तथा अभिनेता निखिल अहिले निकै दबाबमा छन्। वितरकको निराशा र हलको सुनसान अवस्थाले निखिललाई कति अत्याएको छ भन्ने कुरा सोमबारको घटनाले पुष्टि गर्छ।
सोमबार सञ्चारकर्मीहरूसँग अचानक जम्काभेट हुँदा निखिलको हाउभाउ रोचक देखियो। क्यामेरा देख्नासाथ उनी ‘क्यामेरा अट्याक नगरौँ न’ भन्दै फुत्त आफ्नो गाडीभित्र पस्न खोजे। तर, पत्रकारहरूले उनलाई कहाँ सजिलै छोड्थे र!
मोबाइल र क्यामेरा अगाडि तेर्सिएपछि निखिल एकछिन अकमक्क परे र मन नलागी-नलागी मिडियासँग संवाद गर्न बाध्य भए।
गाडीको आधा ढोका खोल्दै निकै आध्यात्मिक शैलीमा उनले भने, ‘फिल्मको प्राविधिक काम अलि अप्ठ्यारो छ। हामी डे-नाइट नै काम गरिरहेका छौँ। ब्याकग्राउन्ड स्कोरको काम बाहिर (विदेशमा) भइरहेको छ।’
बजारमा यो फिल्म साउन २९ गते आउने चर्चा चल्न थालेको छ। तर, निखिल आफैँ भने यो मितिलाई लिएर कन्फ्युज देखिन्छन्।
‘ग्राफिक्सको काम धेरै छ। त्यो सही समयमा सकिन्छ कि सकिँदैन भन्ने पक्का नभएर नै मिति घोषणा नगरेका हौँ। तर साउनमा चाहिँ फिल्म आउनुपर्ने हो’, उनले थपे।
फिल्म वृत्तमा भने निखिलको यो अन्योललाई केवल प्राविधिक काम मात्र मान्न तयार छैनन्। कतै पछिल्ला फिल्महरूको असफलताले उनलाई तर्साएको त होइन? भन्ने आशंका गर्न थालिएको छ।
उनले अभिनय गरेका पछिल्ला फिल्महरू ‘पिँजडा ब्याक अगेन’ र ‘भिलेन’ले हलमा दर्शकको साथ पाएनन्। त्यस्तै, करिब एक दशकअघि उनले निर्देशन गरेको ‘भैरव’ ले चर्चा त कमायो, तर बक्स अफिसमा सोचेजस्तो व्यापार गर्न सकेन।
यिनै पुराना असफलताका कारण आफ्नो कमब्याक फिल्म मानिएको ‘आचार्य’ लाई लिएर निखिल निकै सचेत र हच्किएका पनि देखिन्छन्।
असार १०, २०८३ बुधबार ०८:४५:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।