रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन्।
चितवनमा जारी रास्वपाको महाधिवेशनअन्तर्गत मंगलबार भएको मनोनयन दर्ता प्रक्रियामा सभापति पदमा लामिछानेको एकल उम्मेदवारी परेपछि पार्टीको निर्वाचन आयोगले उनलाई निर्विरोध निर्वाचित घोषणा गर्यो।
केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार सभापतिमा अन्य कसैको मनोनयन नपरेकाले लामिछाने निर्विरोध चयन भएका हुन्। लामिछानेको प्रस्तावकमा वरिष्ठ नेता एवं प्रधानमन्त्री वालेन्द्र शाह रहेका थिए।
सभापतिको चयन भएसँगै अब ९९ जना केन्द्रीय सदस्यका लागि निर्वाचन प्रक्रिया अघि बढ्ने आयोगले जनाएको छ। सदस्यका लागि मनोनयन दर्ता गर्ने क्रम मंगलबार जारी रहने र बुधबार बिहानदेखि मतदान सुरु हुने छ।
मतदान सम्पन्न भएको दुई घण्टापछि मतगणना सुरु गरिने र पहिलो चरणको मतपरिणाम घोषणा गरिने निर्वाचन आयोगका प्रमुख केसीले जानकारी दिए। रास्वपाको विधानअनुसार सभापति र वरिष्ठ नेताका लागि केन्द्रीय सदस्य निर्वाचित हुनु पर्दैन।
असार ९, २०८३ मंगलबार २२:१३:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।