लालीबजारलाई १० करोड पुग्न धौ-धौ, डेढ करोडमा रोल नं. १ ले चित्त बुझाउँदा कुम्भको कमाइ कति ?
काठमाडौं : अभिनेत्री स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको फिल्म ‘लालीबजार’लाई बक्स अफिसमा १० करोडको आँकडा छुन हम्मे-हम्मे परेको छ।
गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको ‘लालीबजार’ले लामो समयसम्म हलमा उपस्थिति जनाइरहँदा पनि १० करोड क्लबमा प्रवेश गर्न सकेको छैन। चलचित्र विकास बोर्डका अनुसार आइतबार रातीसम्ममा लालीबजारले नौ करोड २८ लाखको व्यापार गरेको छ।
गत साता नै नौ करोड १९ लाख कटाएको यो फिल्म अझै हलमा चलिरहेको छ। अहिलेसम्म तीन लाख १५ हजार ७२४ टिकट बिक्री भएको चलचित्र विकास बोर्डको साप्ताहिक रिपोर्टले देखाएको छ।
त्यसैगरि गणतन्त्र दिवसको अवसर पारेर गत जेठ १५ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘रोल नं. १’ले घरेलु बक्स अफिसमा डेढ करोडको व्यापार गरेको छ। हलमा लागेको करिब एक महिना हुनै लाग्दा आइतबारसम्म एक करोड ५५ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ।
मुकुन भुसालको मुख्य भूमिका रहेको फिल्मले ५७ हजार १३२ दर्शकको साथ पाएको छ। अहिले हलमा नयाँ नेपाली फिल्म ‘आइएम जित बहादुर’बाहेक अरू प्रदर्शनमा आएका छैनन्। जित बहादुरको दर्शक पनि खासै हलमा नदेखिँदा अझै एक साता यी दुवै फिल्मले हल नछाड्ने देखिन्छन्।
रोल नं. १ ले अघिल्लो साता एक करोड ३५ लाख रुपैयाँ ग्रस कमाइ गरेको थियो। कमाइको ग्राफ हेर्ने हो भने सात दिनमा २० लाख ३० हजार कलेक्सन गरेको छ।
चलचित्र विकास बोर्डको बक्स अफिस रिपोर्टअनुसार गत जेठ १५ गतेबाट प्रदर्शनमा आएको ‘कुम्भ’ले चार लाख २५ हजार रुपैयाँ ग्रस कलेक्सन गरेको छ। एक हजार ८१५ वटा टिकट बिक्री गरेको छ।
कुन फिल्मको को छ?
फिल्म ‘लालीबजार’लाई यम थापाले निर्देशन गरेका हुन्। उनकै लेखन रहेको यस फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानिया, मुकुन्द्र श्रेष्ठ लगायतको अभिनय रहेको छ। यस फिल्मको लगानी दीपस खत्री म्याक्स, अभिनेता रवीन्द्रसिंह बानियाले गरेका हुन् भने कार्यकारी निर्मातामा रवीन्द्र भट्टराई रहेका छन्।
यता सर्वकालिन ब्लकबस्टर ‘पूर्णबहादुरको सारंगी’ फेम्ड निर्माता विनोद पौडेलले फिल्म ‘रोल नं. १’निर्माण गरेका हुन्। जोन योञ्जनको निर्देशनमा निर्माण भएको यस फिल्मलाई महेश दवाडीले पटकथा लेखेका छन्। फिल्ममा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारीका साथै बाल कलाकारमा निर्भीक रेग्मी, रिञ्चेन लामा, संयम कटुवाल, सिजल श्रेष्ठले अभिनय गरेका छन्। विनोद पौडेल र गुञ्जन गिरी निर्माता हुन्। छत्रमाया गिरी र रमेश चौलागाईं कार्यकारी निर्माता हुन्।
यता एक्सन-ड्रामामा आधारित फिल्म ‘कुम्भ’मा अशोक आर्यन, सुनिल थापा, सुशील पोखरेल, रोहित रुम्बा, सृष्टि खड्का, अफ्सना थापा लगायतका कलाकारले अभिनय गरेका छन्। रणधीर श्रेष्ठले निर्देशन गरेको यो फिल्ममा दक्षिण भारतीय अभिनेता सुरेन्द्र ठाकुरको समेत अभिनय रहेको छ।
असार ९, २०८३ मंगलबार १५:१२:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।