‘झिँगेदाउ–२’ को पोस्टर सार्वजनिक, असोज २ मा प्रदर्शन हुने

‘झिँगेदाउ–२’ को पोस्टर सार्वजनिक, असोज २ मा प्रदर्शन हुने

काठमाडौं : बक्स अफिसमा सफल फिल्म ‘झिँगेदाउ’ को सिक्वेल ‘झिँगेदाउ–२’ को तीनवटा नयाँ पोस्टर सार्वजनिक गरिएको छ। 

पारिवारिक, सामाजिक तथा मनोरञ्जनात्मक कथावस्तुमा आधारित यो फिल्म आगामी असोज २ गतेदेखि देशभरका हलहरूमा एकसाथ प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ।

निर्माण पक्षले पोस्टरहरूसँगै चलचित्रको प्रचारलाई तीव्रता दिइने र गीत तथा ट्रेलर क्रमश: र सार्वजनिक गर्दै जाने बताएको छ।

सार्वजनिक पोस्टरमा चलचित्रका प्रमुख कलाकारलाई समेटिएको छ। तीन फरक पोस्टरले फिल्मप्रति कौतुहलता जगाएको छ। सार्वजनिक गरीएको पहिलो पोस्टरमा अभिनेत्री केकी अधिकारी र आँचल शर्मा हर्षित मुद्रामा देखिएका छन् भने हिउँवाला गौतम, महेश त्रिपाठी र कुशल बिष्टको अनुहारमा भावुकता झल्किएको छ।

यस्तै दोस्रो पोस्टरमा फिल्मका मुख्य चार पात्रहरू दशैँको रौनकमा रमाएको देख्न सकिन्छ। यसले चलचित्रको कथावस्तुमा दशैँको परिवेशलाई समेत समेटिएको प्रष्ट पार्छ।

तेस्रो पोस्टरमा अभिनेता आर्यन सिग्देललाई प्रस्तुत गरिएको छ। जहाँ मुख्य चार पात्रहरू अचम्मित भावमा देखिन्छन् भने आर्यनले उनीहरूलाई रोक्न खोजेको जस्तो रोचक दृश्य देखाइएको छ।

कपनगढी सिनेमा प्रालि. र फिल्म क्र्यु नेपाल प्रालिको प्रस्तुतिमा निर्माण भएको फिल्ममा केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी, कुशल बिष्ट, आर्यन सिग्देल, हिउँवाला गौतम, सरोज खनाल, बसुन्धरा भुसाल, चैत्यदेवी सिंह, संगम भण्डारी, विजय देउजा, अंशु महर्जन, अभयराज बराल, उत्तम केसी, शिवहरि वैरागी नेपाल, आशा भुसाल, रेनु प्रधान, विनोद कुमार पौडेललगायतका कलाकारको अभिनय रहेको छ। फिल्ममा मदनकृष्ण श्रेष्ठ र मिथिला शर्मा अतिथि कलाकारका रूपमा देखिनेछन्।

ज्ञानेन्द्र देउजाको निर्देशनमा बन्ने फिल्मका निर्माता सुलभ प्रतिक देउजा र समिक्षा देउजा हुन्। अर्जुन पोखरेल र ज्ञानेन्द्र देउजाको संगीत रहेको छ।

फिल्मको पटकथा, संवाद तथा परिकल्पना सेन, गोविन्द फुयाल र शिशिर चालिसेले तयार गरेका हुन्। छायांकन विष्णु घिमिरे ‘कल्पित’ र बिबेक बस्नेतले गरेका छन् भने सम्पादन मित्र डी. गुरुङले गरेका छन्। निर्माण व्यवस्थापनको जिम्मेवारी ईश्वर घिमिरेले सम्हालेका छन्।

३ वर्ष अगाडि रिलिजमा आएको फिल्म ‘झिंगे दाउ’ले बक्स अफिसमा सुखद व्यापार गरेकाले दर्शकले यसको सिक्वेल ‘झिंगे दाउ २’ लाई पनि निकै रुचाउने निर्माण पक्षले अपेक्षा गरेको छ। 

असार ८, २०८३ सोमबार १३:५४:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।