‘कमेडी दरबार’को संवाद र दृश्यमा रास्वपा नेताहरूको असन्तुष्टि, के हो ‘बिप’ लगाइएको र ‘ब्लर’ गरिएको दृश्य?
काठमाडौं : जनताको आवाज बन्ने र अभिव्यक्ति स्वतन्त्रताको वकालत गर्ने दाबीसहित राजनीतिमा होमिएका नयाँ शक्तिहरू नै आफूमाथि हुने व्यङ्ग्यप्रति अनुदार बन्न थालेका छन्।
पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरू लक्षित व्यङ्ग्यात्मक प्रस्तुति समेटिएको ‘कमेडी दरबार सिजन ३’ को नवौं एपिसोडमा रास्वपाकै दबाबका कारण कयौँ दृश्यहरू काटिएका छन्।
प्राइम टेलिभिजन र युट्युब च्यानल ‘ओएसआर रियालिटी’मार्फत प्रसारण हुँदै आएको ‘कमेडी दरबार’को पछिल्लो एपिसोडमा संसद् र सभामुखको भूमिकालाई लिएर व्यङ्ग्य गरिएको थियो।
उक्त प्रहसनमा कलाकारद्वय सरोज भण्डारी र सुजन जिम्बाले क्रमशः ‘सभामुख’ र ‘मर्यादा पालक’को भूमिका निर्वाह गरेका थिए।
अतिथिका रूपमा काठमाडौं महानगरपालिकाका पूर्व नगरप्रहरी प्रमुख तथा हाल रास्वपा नेता राजुनाथ पाण्डे, पार्टीका अन्य नेताहरू जगदिस खरेल र रुकेश रन्जित थिए।
प्रहसनका क्रममा सभामुखको भूमिकामा रहेका भण्डारीले ‘हाम्रोतर्फबाट डोजर फर्काउनका निम्ति राजु पाण्डे हुनुहुन्छ’ भन्दै व्यङ्ग्य गर्दा दर्शकदीर्घामा रहेका खरेल र रन्जित हाँसे पनि पाण्डेको अनुहार भने गम्भीर देखिएको थियो।
दबाबपछि संवादहरूमा ‘बिप’
शोको प्रोमो प्रसारण भए लगत्तै प्रेस काउन्सिलमा उजुरी परेको थियो। काउन्सिलका मिडिया अनुगमनकर्ता प्रकाश शर्माका अनुसार खगेन्द्र प्रसाद चापागाईँको नाममा काउन्सिलमा उजुरी आएपछि यसबारे कार्यक्रम प्रशारण संस्था प्राइम टेलिभिजनको मौखिक ध्यानाकर्षण गराइएको थियो।
"कार्यक्रमको प्रोमो प्रशारण भएपछि उजुरी आयो। प्रोमोमै सांसदको लोगो प्रयोग भएको र सभामुख भनेरै सम्बोधन भएको खुलेपछि लोगो प्रयोग गर्न संसद सचिवालयबाट अनुमति लिएको हो हैन भन्नेबारे प्राइम टीभीसँग जानकारी लिएर उजुरीबारे मौखिक जानकारी गराएका थियौँ। त्यसपछि काउन्सिलले केही गरेको छैन। केवल ध्यानाकर्षण मात्र गराएको हो" शर्माले उकेरासँग भने।
कार्यक्रम प्रशारणहुँदा भनेएपिसोडका कयौं संवादहरूमा ‘बिप साउन्ड’ राखियो, केही दृश्यहरू ब्लर गरिएको छ। झन्डै ५ मिनेटको प्रहसनमा ११ पटकभन्दा बढी ‘बिप साउन्ड’ प्रयोग गरेर संवादहरू छोपिएको छ भने केही दृश्यमा ब्लर गरिएको छ। आखिर के हो त बिप लगाइएको शब्द अनि ब्लर गरिएको दृश्य?
कमेडी दरबारका ‘महाराज’ तथा चर्चित कमेडियन मनोज गजुरेलका अनुसार बिप लगाइएको शब्द ‘सभामुख’ र ‘संसद्’ हो भने ब्लर गरिएको दृश्य संघीय संसद्को लोगो हो। उनले संसद्को लोगो दुरुपयोग भएको तर्क गर्दै रास्वपाका नेताहरूले दृश्य हटाउन दबाब दिएको समेत खुलाए।
उनले उकेरासँग भने, ‘त्यसमा कुनै अश्लिलता भन्ने शब्द छैन। मर्यादित नै छ। तर त्यहाँ बोल्दा सभामुख भन्ने शब्द थियो। त्यसमा उहाँहरूले आपत्ति जनाउनुभएको हो। अनि अरू एक-दुई वटा ‘संसद्’ भन्ने शब्द थियो। त्यही नै होला।’
गजुरेलले भने, ‘संसद् र सभामुखको क्यारेक्टरमा प्रयोग गरिएका शब्द र संसद्को लोगोको विषयलाई लिएर उहाँहरूले म र मिडिया प्रोडक्सन टिमलाई फोन गर्नुभएको थियो। प्रोडक्सन टिमले सुरुमा नकाट्ने अडान लिए पनि उहाँहरूको दबाबपूर्ण अनुरोधपछि कतिपय दृश्यहरू काट्न र बिप लगाउन बाध्य हुनुपर्यो।’
गजुरेलले विगतका सरकार वा राजतन्त्रको समयमा पनि यति धेरै प्रत्यक्ष दबाब नआएको स्मरण गरे।
‘विगतमा राजा ज्ञानेन्द्रको क्यारिकेचर गर्दा त दरबारबाट यस्तो दबाब आएको थिएन। तर अहिले सार्वजनिक पद र राजनीतिक जीवनमा रहेका व्यक्तिहरूमाथि व्यङ्ग्य गर्दा अवरोध हुनु दुःखद हो’, उनले थपे।
होस्ट विक्की अग्रवालको असन्तुष्टि
शोका होस्ट विक्की अग्रवालले सामाजिक सञ्जालमार्फत आफ्नो मिहिनेतमाथि कैँची चलाइएकोमा तीव्र असन्तुष्टि पोखेका छन्।
उनले प्रश्न गर्दै लेखेका छन्, ‘हामीले हरेक हप्ता लेखाइ, अभ्यास र कलाकारहरूको मिहिनेतबाट तयार गरेको सामग्रीमा कसैले सजिलै कैँची चलाउँदा निकै चित्त दुख्ने रहेछ। अब के नेपालमा चलचित्र जस्तै टेलिभिजन कार्यक्रम पनि रुवाउने मात्रै बनाउनुपर्ने हो?’
उनले राजनीतिज्ञले राजनीति गर्ने र कमेडियनको काम मानिसहरूलाई हँसाउनु भएको भन्दै सिर्जनात्मक काममा अवरोध नगर्न आग्रह गरेका छन्।
*यस अगाडि सांसद समीक्षा बास्कोटाले उजुरी दिएको लेखिएकामा प्रेस काउन्सिलबाट उजुरीकर्ता खगेन्द्र चापागाईँ भएको जानकारी आएकाले नाम संशोधन गरिए काउन्सिलको धारणा थपिएको छ।
असार ८, २०८३ सोमबार १२:०३:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।