‘बाः एक योद्धा’ को पहिलो पोस्टर सार्वजनिक, को हुन् त ‘बाः एक योद्धा’ का ‘बा’?
काठमाडौं : चलचित्र ‘बाः एक योद्धा’को पहिलो पोस्टर सार्वजनिक भएको छ। निर्माण टिमले आइतबार सार्वजनिक गरेको पोस्टरले लामो समयदेखिको कौतुहलता मेट्दै फिल्मका मुख्य पात्र 'बा' को हुन् भन्ने रहस्य खोलेको छ।
पोस्टरमा अभिनेता दिब्य देव चस्मा लगाएको र निकै तनावग्रस्त मुद्रामा प्रस्तुत भएका छन्, जसले उनी नै चलचित्रका 'बा' हुन् भन्ने पुष्टि गर्छ। उनीसँगै अभिनेत्री सुहाना थापा ग्रामीण परिवेशको झोला बोकेर चिन्तित रूपमा हिँडिरहेकी देखिन्छिन्।
पोस्टरको एउटा तस्बिरले अभिनेत्री झरना थापा यस चलचित्रमा दिब्य देवको अपोजिट अर्थात् श्रीमतीको भूमिकामा रहेको देखाउँछ। यस हिसाबले वास्तविक जीवनका आमा-छोरी (झरना र सुहाना) यस फिल्ममा पनि आमा-छोरीकै भूमिकामा देखिने भएका छन्।
घरको भित्तामा टाँसिएको तस्बिरमा चारजनाको सानो परिवार रहेको देखाइएको छ। फलैँचामा बाबु र आमा बसिरहेको दृश्य र आकाशमा देखिएको हवइजहाजले परिवारको कोही एक सदस्य वैदेशिक रोजगार र वा पढ्न विदेश गएको हो कि भन्ने अनुमान लगाउन सकिन्छ।
पृष्ठभूमिमा कोरिएको जग्गाधनी पूर्जा (लालपूर्जा) र सरकारी छापले छोराछोरीको गर्जो टार्न वा विदेश पठाउन बुबाले आफ्नो घरजग्गा धितो राखेर पैसा जुटाउनु परेको बाध्यता र संघर्षको कथा देखाउन खोजेको संकेत गरेको छ।
‘बा: एक योद्धा’ सन्तानको भविष्य र सुखका लागि एक मध्यमवर्गीय बुबाले गर्ने संघर्ष तथा त्यागको कथामा आधारित रहेको निर्माण पक्षले जनाएको छ।
आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको यस फिल्ममा दिब्य देव, झरना थापा, सुहाना थापा, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा, शवि थापा र अनिल बुढाथोकी मुख्य भूमिकामा छन्।
यस फिल्मको कथासँगै पटकथा पनि निर्देशक हरि लम्सालको रहेको छ। वसन्त लम्साल निर्माता रहेको यस फिल्ममा शिवराम श्रेष्ठको छायांकन रहनेछ भने मुख्य सहायक निर्देशकमा तारानाथ न्यौपाने छन् ।
‘बा: एक योद्धा’ आशिष एच तामाङ र प्रदीप धामीको कुवेर सिने डिस्ट्रिब्युसनले वितरण गर्नेछ।
नेपाली समाजको जीवन्त र वास्तविक पारिवारिक कथा बोकेको फिल्म ‘बाः एक योद्धा’ आगामी भदौ १९ गते अर्थात् कुसे औंसी (बुबाको मुख हेर्ने दिन) को पूर्वसन्ध्यामा देशभरका हलहरुमा प्रदर्शन हुनेछ।
असार ७, २०८३ आइतबार १५:३४:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।