‘जारी’ को सुपरहिट जोडी फेरि पर्दामा, ‘रातो घेरा’ मा देखिने भए दयाहाङ र मिरुना

‘जारी’ को सुपरहिट जोडी फेरि पर्दामा, ‘रातो घेरा’ मा देखिने भए दयाहाङ र मिरुना

काठमाडौं : पछिल्लो समयकै निकै रुचाइएको जोडी अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर फेरि एकपटक ठूलो पर्दामा सँगै देखिने भएका छन्।

सुपरहिट फिल्म 'जारी' मार्फत दर्शकको मन जित्न सफल यो अन-स्क्रिन जोडी अब नयाँ फिल्म 'रातो घेरा (द रेड सर्कल)' मा मुख्य भूमिकामा देखिन लागेको हो।

निर्माण टिमका अनुसार फिल्मको कथा सामाजिक र भावनात्मक पक्षमा आधारित हुने बताइएको छ, जसले दर्शकलाई मनोरञ्जनसँगै गहिरो सन्देश पनि दिने अपेक्षा गरिएको छ।

'जारी' मा दयाहाङ र मिरुनाको उत्कृष्ट अभिनय र लोभलाग्दो केमेस्ट्रीले बक्स अफिसमा सफलता हासिल गर्नुका साथै दर्शक तथा समीक्षक दुवैबाट अत्यन्त सकारात्मक प्रतिक्रिया प्राप्त गरेको थियो। सोही सफलता र क्रेजका कारण यो जोडीको नयाँ सहकार्यलाई लिएर दर्शकमाझ निकै उत्साह देखिएको छ।

अभिनेत्री मिरुना मगरले केही दिनअघि मात्रै फिल्म ‘ऊनको स्वीटर’ बाट नेपाल सरकारद्वारा प्रदान गरिने 'राष्ट्रिय चलचित्र पुरस्कार' मा सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड समेत जितेकी छन्। 

निर्माण पक्षका अनुसार यो फिल्मलाई अझ भव्य, कथात्मक रूपमा सशक्त र प्राविधिक रूपमा उच्च स्तरको बनाउन विशेष ध्यान दिइएको छ। साथै अनुभवी कलाकार तथा प्राविधिक टिमको सहभागिताले फिल्मलाई थप प्रभावशाली बनाउने विश्वास गरिएको छ।

फिल्मका अन्य कलाकार र प्राविधिक टिमको विवरण भने निर्माण पक्षले क्रमशः सार्वजनिक गर्दै जाने बताएको छ।

विश्राम फिल्मस् प्रा. लि.को निर्माणमा बन्न लागेको यो फिल्मलाई निर्देशक अनिल बुढा मगरले निर्देशन गर्ने भएका छन्। रातो घेरालाई काफीया फिल्म्स प्रा. लि. का गोविन्द शाहीले वितरण जिम्मा लिएका छन्।

असार ७, २०८३ आइतबार १३:५४:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।