ब्लकबस्टर निर्देशक सरोज पौडेलको 'सिन्दुरे जात्रा' मंसिर ४ मा रिलिज हुने
काठमाडौं : नेपाली फिल्म इतिहासकै सर्वाधिक कमाउने फिल्म ‘पूर्णबहादुरको सारङ्गी’का निर्देशक सरोज पौडेलले आफ्नो नयाँ फिल्म ‘सिन्दुरे जात्रा’को प्रदर्शन मिति घोषणा गरेका छन्।
हाल छायांकनको चरणमा रहेको यो फिल्म आगामी मंसिर ४ गते देशभरका हलमा रिलिज हुने भएको छ।
वितरकसँगको आपसी सल्लाह र उपयुक्त समयको मूल्याङ्कन गरी ६ महिना पछिको मिति तय गरिएको निर्देशक पौडेलले जानकारी दिए।
“वितरकसँग सल्लाह गरेर हामी सबैको उपयुक्त समय हेरेर मंसिर ४ गते आउने निर्णयमा पुगेका हौँ,” निर्देशक पौडेलले भने, “यो मितिमा हाम्रो चलचित्रलाई सबैले सहयोग गर्नुहुनेछ भन्ने हाम्रो अपेक्षा छ।”
हतारमा आउनुभन्दा पोस्ट-प्रोडक्सनमा पर्याप्त समय दिएर स्तरीय फिल्म पस्कने टिमको योजना छ।
सारंगी फिल्म्सको प्रस्तुतिमा निर्माण भइरहेको फिल्मको छायांकन पर्वतको कुस्मा नगरपालिकास्थित आर्थर डाँडाखर्कबाट सुरु भएको थियो। तर, छायांकनकै क्रममा मुख्य अभिनेता विजय बरालको हात फ्याक्चर भएपछि निर्माण टिमले अहिले केही समयका लागि सुटिङ स्थगित गरेको छ। चलचित्रको बाँकी छायांकन आगामी असार १५ गतेपछि मात्र पुनः सुरु हुनेछ।
'पूर्णबहादुरको सारङ्गी'को ऐतिहासिक सफलतापछि निर्देशक सरोज पौडेल, अभिनेता विजय बराल र अभिनेत्री अञ्जना बराइलीबीच यो दोस्रो सहकार्य हो।
सिन्दुरे जात्रामा विजय बराल, अञ्जना बराइली, विनोद न्यौपानेका साथै कमलमणि नेपाल, लोकेन्द्र लेखक, भोलाराज सापकोटा, विनोद न्यौपाने, पूर्वमिस नेपाल उषा खड्गीलगायतका कलाकारहरूको अभिनय पनि देख्न सकिनेछ।
फिल्ममा लेखन पनि निर्देशक पौडेल स्वयंको रहेको छ भने पटकथा तथा संवाद सविन अधिकारी र वसन्त न्यौपानेले तयार पारेका हुन्।
फिल्मका कार्यकारी निर्माता दिनेश खड्का हुन् भने आकाश, सुमन रञ्जित र श्याम मगर सह-निर्मातामा छन्। फिल्ममा बाबु श्रेष्ठको छायांकन, नहकुल खड्काको सम्पादन तथा प्रशान्त सिवाकोटी, रिदम कँडेल र नन्दु परियारको संगीत रहनेछ।
रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मसले देशव्यापी वितरण गर्ने फिल्मको डिजिटल पार्टनरमा ओएसआर डिजिटल रहेको छ।
असार ६, २०८३ शनिबार १७:४२:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।