आफूले लिएको पारिश्रमिक बराबरको व्यापार पनि नगराउने त्यो स्टार भ्यालुको काम के?

आफूले लिएको पारिश्रमिक बराबरको व्यापार पनि नगराउने त्यो स्टार भ्यालुको काम के?

काठमाडौं : फिल्म बजारको चर्चा अनुसार अभिनेता विपिन कार्कीले एक फिल्ममा अभिनय गरे वापतको पारिश्रमिक हो ५० लाख। उनको यो रेटको चर्चा चलेको पनि निकै भइसक्यो। अनि हालै रिलिज भएको फिल्म काजीको कुल व्यापार हेर्ने हो भने ४४ लाख ४६ हजार।

यो नाफा हैन, कुल व्यापार मात्र हो। नेपाली फिल्म बजारमा निर्माताको हातमा पर्ने अधिकतम रकम भनेको कुल व्यापारको ३५ प्रतिशत हो। यसको आधारमा हेर्ने हो भने फिल्म काजीका निर्माताले बल्ल बल्ल १४ लाख ५२ हजार जति कमाएका छन् हलबाट। यसले नै देखाउँछ यो फिल्मले निर्मातालाई एक कलाकारलाई दिएको पारिश्रमिक पनि फिर्ता नगर्ने भयो।

विपिनको स्टार भ्यालु बलियै मानिन्छ नेपाली कला बजारमा। अभिनयमा पनि त्यति धेरै गुनासो रहन्न। तर गजबको स्टार भ्यालु भएको भनिने कलाकारको मुख्य भूमिका रहेको फिल्मले उनले लिएको पारिश्रमिक बराबरको व्यापार पनि गर्दैन भने त्यो भ्यालुको के काम।

फिल्म ‘काजी’ मात्रै बक्स अफिसमा ‘पाजी’ भएको हैन, विपिनको अभिनय रहेको अर्को फिल्म ‘पहाड’ को व्यापारिक आँकडा पनि उस्तै बिजोग छ। यसले पनि उही सालाखाला ६० लाखको व्यापार पार गरेको आँकडा आएका छन्। पहाडमार्फत नेपाली फिल्म बजारमा गजबको कमब्याक गर्ने तुलसी घिमिरेको सपना चकनाचुर भयो।

आफ्नो परिवारको सदस्यलाई मुख्य भूमिकामा अभिनय गराएका घिमिरेले नेपाली दर्शकको बदलिएको स्वादको भेउ नै पाउन सकेनन्। पुरानै शैलीमा निकै कमजोर फिल्म बनाए। त्यसमा विपिनको क्रेजले साथ दिने आस गरेका थिए होलान्। तर दर्शकले न दर्पण छायाका निर्देशक भनेर तुलसीलाई माफ दिए न त विपिनको स्टार भ्यालुकै ख्याल गरे। दर्शकले केवल आफूले दुखले कमाएको पैसाको ख्याल गरे।

विपिनको अभिनय रहेको फिल्महरू क्यूमा छन्। तर पहाड अनि काजीको हालत हेर्ने हो भने क्यूमा रहेका फिल्मको व्यापारिक सफलता पनि शंकामै देखिन्छ।

भारतमा स्टार भ्यालु भएका सलमान खान वा शाहरुख खानले अभिनय गरेको फिल्म यसरी फ्लप भयो भने उनीहरूले डुबेका निर्मातालाई केही राहत होस् भनेर आफ्नो पारिश्रमिक फिर्ता गरेको समाचारहरू बेलाबखत बाहिरिन्छन्। साँच्चै पहाड र काजीबाट विपिनले पारिश्रमिक ५० लाखै लिएको हो भने चैँ पारिश्रमिक फिर्ता गरेकै जाति। 

असार ५, २०८३ शुक्रबार २३:५५:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।