मदनकृष्णलाई दीर्घ साधना सम्मान, फ्लप फिल्मलाई पनि विधागततर्फ राष्ट्रिय अवार्ड

मदनकृष्णलाई दीर्घ साधना सम्मान, फ्लप फिल्मलाई पनि विधागततर्फ राष्ट्रिय अवार्ड

काठमाडौं : हास्य कलाकार मदनकृष्ण श्रेष्ठ वर्षको प्रतिष्ठित ‘दीर्घ साधना सम्मान’बाट सम्मानित भएका छन्। चलचित्र विकास बोर्डद्वारा शुक्रबार आयोजित ‘राष्ट्रिय चलचित्र पुरस्कार २०८३’मा नेपाली चलचित्र क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै श्रेष्ठलाई नगद तीन लाख ७५ हजार रुपैयाँसहित सम्मान प्रदान गरिएको छ।

राष्ट्रपति भवनमा आयोजित समारोहमा श्रेष्ठसँगै अन्य विधाका विजेताहरूलाई पनि पुरस्कृत गरिएको छ। गत वर्ष प्रदर्शनमा आएको चलचित्र ‘ऊनको स्वीटर’ले सर्वोत्कृष्ट चलचित्रको उपाधि हात पार्यो भने सोही चलचित्रबाट नवीन चौहानले उत्कृष्ट निर्देशक र मिरुना मगरले उत्कृष्ट अभिनेत्रीको पुरस्कार हात पारे।

यस्तै, गत वर्ष नै प्रदर्शनमा आएको चलचित्र ‘परान’बाट नीर शाहले उत्कृष्ट अभिनेताको पुरस्कार जित्दा सोही चलचित्रबाट दीपक प्रसाद आचार्य (काकु) र यम थापाले उत्कृष्ट लेखक (पटकथा तथा संवाद)को पुरस्कार प्राप्त गरे। नेपाली रंगमञ्च तथा चलचित्रमा करिब ६ दशक बिताइसकेका अभिनेता शाहले परानलाई आफ्नो करियरकै उत्कृष्ट चलचित्र भएको बताउँदै आएका छन्।

विधागततर्फ गत वर्ष नै प्रदर्शनमा आएको चलचित्र ‘कोशेढुङ्गा’बाट पदम बहादुर श्रेष्ठ (बाबु)ले उत्कृष्ट छायाङ्कन र सोही चलचित्रबाट नहकुल खड्काले उत्कृष्ट सम्पादनको पुरस्कार जिते। उक्त चलचित्रले कमजोर समीक्षा पाएको थियो भने चलचित्र विकास बोर्डको बक्स अफिसमा एक करोड ७२ लाख कलेक्सन मात्रै गरेको थियो। कमजोर सम्पादन र छायांकन भएको यस चलचित्रलाई बोर्डले उत्कृष्टमा सिफारिस गरेको हो।

यस्तै नेपाल भाषाको चलचित्र ‘इन्दिरा धिमे मैचा’ले उत्कृष्ट आदिवासी जनजाति चलचित्रको पुरस्कार जित्दा ज्योतिराज राईले चलचित्र ‘नाक्छोङ’का लागि विशेष चलचित्र पुरस्कार प्राप्त गर्न सफल भए।

त्यसैगरी, निर्णायक समिति (जुरी) प्रोत्साहन पुरस्कार तर्फ चलचित्र ‘रमिताको पिरती’बाट आना शर्मा र चलचित्र ‘झरी पछिको इन्द्रेणी’बाट विमोचन दवाडी पुरस्कृत भए। आना शर्माले यसअघि थुप्रै चलचित्रमा काम गरिसकेकी छन् भने विमोचनको यो डेब्यु चलचित्र हो। दुवै चलचित्र बक्स अफिसमा भने फ्लप हुन्। 

आनाको निर्मातासमेत रहेको चलचित्र ‘रमिताको पिरती’ले बोर्डको बक्स अफिसमा ३० लाखको व्यापार गरेको थियो भने ‘झरीपछिको इन्द्रेणी’ले एक करोड २८ लाख मात्रै कलेक्सन गरेको थियो। दीर्घ साधना र मरणोपरान्त सम्मान बाहेकका सबै विधागत पुरस्कारको राशि जनही २५ हजार रुपैयाँ रहेको छ।

चलचित्र क्षेत्रमा विभिन्न माध्यमबाट योगदान पुर्याउने अन्य १० जना स्रष्टाहरूलाई पनि राष्ट्रिय चलचित्र सम्मान प्रदान गरिएको छ। सम्मानित हुनेहरूमा चलचित्रकर्मीहरू मेनुका प्रधान, लक्ष्मी बर्देवा, एञ्जिला सुब्बा, रोहित रुम्बा, अभिनाश विक्रम शाह, डा. सिंह गुरुङ, विनोद शेरचन, विष्णु गोपाल श्रेष्ठ, शङ्कर पाण्डे र पत्रकार प्रकाश सुवेदी रहेका छन्। सोही अवसरमा स्वर्गीय पत्रकार दिनेश सिटौलालाई नगद ५० हजार रुपैयाँसहित मरणोपरान्त सम्मान प्रदान गरिएको छ।

अघिल्लो पटक यो सम्मान तथा पुरस्कार वितरणभन्दा पनि अवार्ड वितरणमा चलचित्रकर्मीहरूले असन्तुष्टि व्यक्त गरेका थिए। विधागततर्फका अवार्ड वितरण निष्पक्ष नभएको भन्दै निर्देशक दीपेन्द्र लामाले ‘जारी’ जस्तो चलचित्रलाई उत्कृष्ट चलचित्र, निर्देशन, पटकथा, अभिनेता, अभिनेत्री, छायांकन र सम्पादनमा कुनै पनि विधामा अवार्ड नदिनु घोर अन्याय हो भन्दै सामाजिक सञ्जालमा नै आक्रोश पोखेका थिए।

त्यस बेला उनले लेखेका थिए, "नेसनल फिल्म अवार्डका निर्णायक समितिको फिल्म लिट्रेसी निकै नै दयनीय रहेछ, छर्लङ्ग भयो।" चलचित्र ‘छ माया छपक्कै २’को सुटिङमा व्यस्त रहेका उनले यस पटक सामाजिक सञ्जालमा असन्तुष्टि पोखेका छैनन्।

सरकारी तवरबाट दिने चलचित्र क्षेत्रमा अतुलनीय योगदान पुर्याएकाहरूलाई दिइने विशेष सम्मान, विधागत पुरस्कार तथा सम्मानमा भने चलचित्रकर्मीको गुनासो गरेको पाइँदैन, अर्थात् सुनिँदैन। यस पटकको चलचित्रकर्मीको सम्मान तथा पुरस्कारको गुनासो पनि खासै देखिँदैन।

असार ५, २०८३ शुक्रबार १७:५६:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।