हलमा ‘आई एम जितबहादुर’ : जितुलाई ‘निर्माता’ मात्र बनाउला कि लगानी पनि उठाउला?

हलमा ‘आई एम जितबहादुर’ : जितुलाई ‘निर्माता’ मात्र बनाउला कि लगानी पनि उठाउला?

काठमाडौं : नेपाली फिल्म उद्योगको हालको अवस्था हेर्ने हो भने बक्स अफिसमा निकै मन्दी छ। नयाँ वर्ष वैशाखयता स्वस्तिमा खड्का अभिनित ‘लालीबजार’ बाहेक अन्य कुनै पनि फिल्मले आफ्नो लगानी उठाउन सकेका छैनन्।

दर्शकभन्दा बढी हलमा फिल्म रिलिज भइरहेको यो सुनसान सिजनमा शुक्रबारदेखि अभिनेता तथा निर्माता जितु नेपाल (मुन्द्रे) को मुख्य अभिनय रहेको फिल्म ‘आई एम जितबहादुर’ प्रदर्शनमा आएको छ। तर, सुरुवाती हलचल हेर्दा जितुको यो फिल्मलाई पनि दर्शक पाउन निकै सकस भइरहेको देखिन्छ।

शुक्रबार बिहानदेखि नै केही सिमित हलबाहेक अधिकांश शोहरूमा दर्शकको उपस्थिति निकै न्यून छ। दिउँसोका शोहरूमा त हलका सिटहरू प्रायः खाली नै देखिए। आखिर जितुले फिल्मको प्रमोसन शैली बुझेनन् कि बुझेर पनि मन गरेनन्, त्यो उनैले जानून्!

हुन त चर्चा बटुल्नका लागि जितुले फरक-फरक फण्डाहरू अपनाउन खोजेकै हुन्। कहिले हिरोइनहरू अन्तर्वार्तामा बोलाउँदा पनि आएनन् भनेर हल्ला फैलाउन खोजे, त कहिले प्रियंका कार्की र वर्षा राउतले फिल्म प्रमोसनमा साथ दिएनन् भन्दै मिडियामा फलाक्दै हिँडे। तर, जितुको यो पुरानो ‘लभ र लफडा’ वाला फण्डा दर्शकका लागि निकै बासी भइसकेको थियो।

चर्चाका लागि फण्डा अपनाउन खोजेका जितुलाई अभिनेत्री प्रियंका कार्कीले मिडियाकै अगाडि र्याखर्याख्ती पारिदिइन्। प्रियंकाले ‘यो सबै चर्चा कमाउने फण्डा मात्रै हो’ भन्दै प्रश्न उठाएपछि जितु अक्क न बक्क परेका थिए। न त उनको फण्डा चल्यो, न त फिल्मको राम्रो प्रमोसन नै भयो!

हिरोइनहरूलाई विवादमा तान्दा उल्टै घाटा लाग्ने बुझेर हो कि क्या हो, जितु पछि आफ्नै चिरपरिचित हास्य टेलिश्रृंखला ‘जिरे खुर्सानी’कै शैलीमा केही कमेडी भिडियोहरू बनाउनेतर्फ लागे।

केही कलाकार लिएर कसैलाई सभामुख त कसैलाई सांसद, कर्मचारी र हाकिम बनाएर प्रचारको अन्तिम बल त गरे, तर दर्शकले उनको यो प्रयासलाई कत्तिको पत्याउने हुन्, त्यो शनिबार र आइतबारको विदाकै कलेक्सनमा भर पर्नेछ।

अब फिल्मको भविष्य भारतीय निर्देशक सुभेन्दु घोषको निर्देशन कला र जितु नेपालकै अभिनयमा टिकेको छ। यदि उनीहरूको कामले जादू चलाउन सक्यो भने त ठिकै छ, नत्र जितुले केवल ‘निर्माता भइयो’ भन्दै चित्त बुझाउनु बाहेक अर्को विकल्प देखिँदैन।

अर्कोतिर हलमा बलिउड फिल्म ‘ककटेल २’, दक्षिण कोरियाली फिल्म ‘कोलोनी’ र हलिउडको ‘टोय स्टोरी ५’ जस्ता विदेशी फिल्महरू पनि सँगसँगै भिडिरहेका छन्। अब जितुले ‘विदेशी फिल्मसँग कहाँ सकिन्छ र!’ भन्दै हात उठाउने हुन् कि दर्शक तान्न सफल हुने हुन्? केही दिन पर्खेरै हेरौँ है त!

असार ५, २०८३ शुक्रबार १४:२६:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।