चलचित्र ‘रोल नं १’ को टिकटमा ५० प्रतिशत छुट
काठमाडौं : नेपाली चलचित्र ‘रोल नं १’ अब दर्शकहरूले सहुलियत मूल्यमा हेर्न पाउने भएका छन्।
विद्यालय, अभिभावक र विद्यार्थीहरूको विशेष अनुरोधलाई मध्यनजर गर्दै निर्माण पक्षले देशभरका हलहरूमा टिकटको मूल्यमा ५० प्रतिशत छुट दिने निर्णय गरेको हो।
यो निर्णय लागू भएसँगै दर्शकले साविकको टिकट दरमा आधा मात्र भुक्तानी गर्नुपर्नेछ।
उदाहरणका लागि, ४०० रुपैयाँ मूल्य पर्ने टिकट अब २०० रुपैयाँमा र ३०० रुपैयाँ पर्ने टिकट १५० रुपैयाँमा उपलब्ध हुने चलचित्रका निर्माता विनोद पौडेलले जानकारी दिएका छन्।
निर्माता पौडेलले भने, ‘विद्यालय, अभिभावक र विद्यार्थीहरूको विशेष अनुरोधलाई स्वीकार गर्दै सेभेन सिज सिनेमाले नेपालभरका सहभागी हलहरूमा ५० प्रतिशत छुट लागू गरिसकेको छ।’
चलचित्रले नेपाली शिक्षा प्रणाली, विद्यार्थीहरूले सामना गर्नुपर्ने मानसिक दबाब, अभिभावकहरूको संघर्ष र जीवनको यथार्थ कथालाई मुख्य विषयवस्तु बनाएको निर्माण पक्षको भनाइ छ।
जोन योञ्जनको निर्देशन र महेश दवाडीको लेखन रहेको यस चलचित्रमा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी र सिर्जना अधिकारी मुख्य भूमिकामा छन्। यस्तै, बाल कलाकारहरू निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल र सिजल श्रेष्ठले अभिनय गरेका छन्।
सेभेन सिज सिनेमाको ब्यानरमा निर्माण भएको यस चलचित्रमा विनोद पौडेल र जान्वी पौडेल निर्माताका रूपमा रहेका छन् भने छत्रमाया गिरी र रमेश चौलागाईं सह-निर्माता हुन्। चलचित्रमा शिवराम श्रेष्ठको छायांकन, प्रशान्त शिवाकोटीको संगीत र मदन घिमिरेको सम्पादन रहेको छ।
असार ४, २०८३ बिहीबार ०९:१४:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।