भदौमा फिल्मको बाढी : सातामै ४ फिल्म भिड्दा दर्शकको खल्तीको पैसा कसले झार्ला?
काठमाडौं : बर्खाको सुनसानपछि भदौमा भने नेपाली फिल्मको ठूलो बाढी आउने भएको छ। बर्खायामको व्यावसायिक मन्दी तोड्दै भदौ महिनामा मात्रै एक दर्जनभन्दा बढी नेपाली फिल्महरू प्रदर्शनको तयारीमा छन्।
भदौको पहिलो हप्ता कुनै फिल्मको प्रदर्शन तय नभए पनि दोस्रो र तेस्रो हप्तादेखि हलहरूमा निकै भिडभाड हुने देखिएको छ। भदौ १२ गते ‘पार्वती’, ‘दुलही’, ‘मास्टर्नी’ र ‘जदौ’ गरी चार फिल्म एकैसाथ आउँदैछन् भने भदौ १९ गतेका लागि ‘स्टेशन’, ‘क का कि की’ र ‘बा एक योद्धा’ ले आफ्नो प्रदर्शन तोकेका छन्।
तर, सबैभन्दा ठूलो र रोचक भिडन्त भने तीजको छेको पारेर भदौ २६ गते हुने भएको छ। निर्देशक विनयराज पौडेलले आफ्नो फिल्म ‘अक्षरा’को सुटिङ सकिनेबित्तिकै भदौ २६ को मिति तोकेपछि उक्त दिन चारवटा ठूला फिल्महरू एकसाथ भिड्ने पक्का भएको हो।
यो बहुपक्षीय भिडन्तमा पुराना तथा स्थापित स्टारदेखि नयाँ पुस्ताका मेकरहरूसम्म मैदानमा उत्रिएका छन्, जसका कारण दर्शकले आफ्नो रुचिअनुसार फिल्म रोजीरोजी हेर्न पाउनेछन्।
भदौ २६ को महाभिडन्त : एकै दिन चार ठूला फिल्म आमनेसामने
यो महाभिडन्तको अग्रपंक्तिमा रेखा थापाको निर्देशनमा बनेको तेस्रो फिल्म ‘माया भनेको यस्तो होला’ रहेको छ। ‘हिम्मतवाली’ र ‘मालिका’ पछि रेखाले निर्देशन गरेको प्रेमकथामा आधारित यो फिल्ममा मदनकृष्ण श्रेष्ठ र दिल श्रेष्ठका साथै पूर्व मिस नेपालहरू सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र नीति शाह लगायतको बलियो स्टारकास्ट देख्न पाइनेछ।
फिल्ममा लक्ष्मी गिरी, राजाराम पौडेल, विशाल पहाडी, संगम भण्डारी, सुजाता श्रेष्ठ र बिनोद पौडेलको अभिनय रहेको छ। ‘माया भनेको यस्तो होला’का निर्माता हरिनारायण श्रेष्ठ र मायादेवीश्रेष्ठ रहेका छन्।
सोही दिनबाट मल्टिस्टारर फिल्म ‘पेन्सन पट्टा’ पनि प्रदर्शनमा आउँदैछ। स्थापित कलाकार तथा निर्माता माओत्से गुरुङको निर्देशनमा बनेको यस फिल्ममा दयाहाङ राई, सुनिल थापा, बुद्धि तामाङ र विल्सन विक्रम राई जस्ता चर्चित अनुहारका साथै गौमाया गुरुङ, पुष्कर गुरुङ, सोल गुरुङ, सूरज तमु, राज थापा काउँचा, मनोज गुरुङ, अनुशा राई, लुनिभा तुलाधर लगायतका कलाकारहरूको अभिनय रहेको छ। माओत्सेले लाहुरे बनेपछिको पेन्सन पट्टाले मानिसको जीवनमा ल्याउने आशा र यसका लागि गरिने संघर्षको कथालाई पर्दामा उतारेका छन्।
यसअघि माओत्से गुरुङले ‘दयारानी’निर्देशन गरिसकेका छन्।
यसै गरी, भदौ २६ लाई नै प्रदर्शन मिति तोकेको अर्को फिल्म ‘अक्षरा’ बाट लामो समय सहायक निर्देशन गरेका विनयराज पौडेलले निर्देशकको रूपमा डेब्यु गर्दैछन्। सुशील सिटौला, न्यान्सी खड्का, रिस्ता अधिकारी, सुशील पोखरेल, पुष्कर राउत, अंशु महर्जन, गीता अधिकारी, वीरेन्द्र कुशवाह, सृजना अधिकारी, मोहन अधिकारी र सृष्टि खड्कालगायतका नयाँ-पुराना कलाकारहरूको अभिनय रहेको यो फिल्म लभस्टोरी कथामा आधारित छ।
यस्तै, सोही दिन प्रदर्शन हुने चौथो फिल्म ‘टिका: स्टेटलेस सोल’ लाई शंकर कार्कीले निर्देशन गरिरहेका छन्। प्रियंका कार्की, वर्षा सिवाकोटी, महेश त्रिपाठी र निर्मल शर्माको मुख्य भूमिका रहेको यो फिल्म पूर्ण रूपमा महिला केन्द्रित कथामा आधारित छ। यसको छायांकन अहिले धमाधम चलिरहेको छ।
वर्षामा दर्शकको खडेरी व्यहोरेका हल सञ्चालकहरूका लागि भदौ महिना सुखद त बन्दैछ, तर फिल्मकर्मीका लागि भने यो महिना 'अग्निपरीक्षा' जस्तै हुने देखिएको छ।
नेपाली फिल्मको सानो बजारमा एकैसाथ चारवटा आशालाग्दा फिल्म रिलिज हुनुले भिडन्त रोचक बनाएको छ। यसले दर्शकलाई विकल्प त धेरै दिएको छ, तर कडा प्रतिस्पर्धाका बीच कुन फिल्मले दर्शकको मन र खल्ती दुवै जित्न सक्छ भन्ने नतिजाका लागि भदौ २६ नै पर्खिनुपर्नेछ।
असार ३, २०८३ बुधबार १८:४९:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।