सुशील र न्यान्सी स्टारर 'अक्षरा'को सुटिङ सकियो, भदौ २६ मा प्रदर्शन हुने
काठमाडौं : सुशील सिटौला र न्यान्सी खड्काको मुख्य भुमिकामा निर्माण भइरहेको फिल्म ‘अक्षरा’को छायांकन पुसम्पन्न भएको छ।
निर्माण टिमले मंगलबार फिल्मको 'इन्ड क्ल्याप' गर्दै सुटिङ सकिएको जानकारी दिएको हो।
सुटिङ समापन गर्नुअघि गत सोमबार निर्माण टिमले तीज पर्वलाई लक्षित गर्दै ‘नाँचौं न बरि लै’ बोलको विशेष गीतको छायांकन गरेको थियो। उक्त गीतमा सुरेन्द्र रानाको शब्द, कर्णराज गिरीको संगीत र चर्चित गायिका समीक्षा अधिकारीको स्वर रहेको छ।
फिल्मको सुटिङ सकिएसँगै निर्देशक विनयराज पौडेलले सम्पूर्ण टिमलाई धन्यवाद दिँदै अब पोस्ट-प्रोडक्सन (सम्पादन) को काम तीव्र गतिमा अगाडि बढाइने बताए।
क्षित बाबु प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भएको यस फिल्ममा सुशील र न्यान्सीका साथमा सुशील पोखरेल, पुष्कर राउत, रिस्ता अधिकारी, अंशु महर्जन, गीता अधिकारी, वीरेन्द्र कुशवाह, सृजना अधिकारी, मोहन अधिकारी र सृष्टि खड्काको मुख्य अभिनय रहनेछ। यस फिल्मका बालकलाकारका रूपमा रोनक खड्का र प्रीसा ढुङ्गानालाई पनि देख्न सकिनेछ।
फिल्मका निर्माता उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गाना हुन् भने कार्यकारी निर्माताका रूपमा सुरज थापाकाजी र सुमन ज्योति न्यौपाने रहेका छन्। फिल्मको कथा निर्माता उग्रसेन आफैँले लेखेका हुन् भने पटकथा तथा संवाद अभिमन्यु निरवी र निर्देशक पौडेलको छ।
दिपेन बस्न्यातको छायांकन रहेको यस फिल्ममा गितमा कोरियोग्राफी रामजी लामिछानेले गरेका छन्। अक्षरामा शंकर महर्जनको द्वन्द्व निर्देशन, मदन न्यौपानेको श्रृङ्गार, प्रार्थना भट्टराईको भेषभूषा र सुमन काफ्लेले व्यवस्थापनको काम सम्हालेका छन्।
त्यस्तै मुख्य सहायक निर्देशकमा दिवस विक्रम बोहोरा र सहायक निर्देशकहरूमा मनोज बोहोरा र सौरभ शाह रहेका छन्।
आगामी भदौ २६ गतेबाट प्रदर्शनमा आउने यो फिल्मलाई नेशनल सिने ग्रुप नेपालका तर्फबाट दीपक दंगालले वितरण गर्ने जिम्मा लिएका छन्।
असार ३, २०८३ बुधबार १६:४७:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।