पाँच सयभन्दा बढीको अडिसनबाट छनोट हुँदै ‘गंगारानी’को मुख्य भूमिकामा रोशन केसी अनुबन्धित
काठमाडौं : राजबहादुर सानेको निर्देशनमा बन्न लागेको फिल्म ‘गंगारानी’को मुख्य भूमिकामा रोशन केसी अनुबन्धित भएका छन्। पाँच सयभन्दा बढी आकांक्षीहरूले दिएको अडिसनबाट मुख्य पात्रका लागि रोशन केसी छानिएका हुन्।
यसअघि केही म्युजिक भिडियोहरूमा अभिनय गरिसकेका रोशनले यसै फिल्ममार्फत डेब्यु गर्दैछन्। फिल्ममा उनको जोडी वर्षा सिवाकोटी सँग बाँधिनेछ। यससँगै ‘गंगा रानी’मा रोशन र वर्षाको जोडी पहिलोपटक पर्दामा देखिनेछ।
'आहा फिल्मस्' को प्रस्तुतिमा निर्माण हुन लागेको यस फिल्मका निर्माता कमलप्रसाद शर्मा हुन् भने कथा र निर्देशन दुवै राजबहादुर सानेकै रहनेछ।
फिल्मको छायाङ्कन आगामी भदौको दोस्रो साताबाट सुरु हुने निर्माण पक्षले जनाएको छ।
यसअघि निर्देशक सानेले फिल्म ‘पाठशाला’,‘द रिटर्न हिरो’,‘लाटी’, ‘वृन्दावन’, ‘बिरंगना’,‘डोली’,‘गुड फ्रेण्ड’,‘सिल्ली फो’,‘बुलाकी’,‘जुना’ र ‘सिटामोल’ जस्ता सिनेमा निर्देशन गरिसकेका छन्।
सानेले निर्देशन गरेका अधिकांश फिल्महरूले बक्स अफिसमा सफलता पाउन नसके पनि विभिन्न अवार्डहरू भने प्राप्त गरेका छन्।
असार २, २०८३ मंगलबार १४:४८:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।