छायांकन सकियो, रिलिज मिति पनि नजिकियो : तर को हुन् ‘बा : एक योद्धा’ का रहस्यमयी ‘बा’?

छायांकन सकियो, रिलिज मिति पनि नजिकियो : तर को हुन् ‘बा : एक योद्धा’ का रहस्यमयी ‘बा’?

काठमाडौं : आगामी भदौ १९ गते रिलिज हुन लागेको चलचित्र ‘बा : एक योद्धा’ का वास्तविक ‘बा’ आखिर को हुन्?

चलचित्रको छायांकन सकिएर पोस्ट-प्रोडक्सनको काम समेत सुरू भइसक्दा पनि निर्माण टोलीले यसका मुख्य पात्र अर्थात् शीर्ष भूमिका निभाउने अभिनेताको नाम गोप्य राखेका छन्।

नेपाली समाजमा एउटा बुवा (बा) ले आफ्नो सन्तानको भविष्यका लागि गर्ने त्याग, अनवरत संघर्ष र जीवनभर झेल्ने चुनौतीहरूलाई मुख्य कथा बनाएको यस चलचित्रले कुसे औंसी अर्थात् बुबाको मुख हेर्ने दिनको पूर्वसन्ध्यालाई आफ्नो प्रदर्शन मिति तय गरेको छ।

चलचित्रको शीर्षक र विषयवस्तु नै बुवामाथि केन्द्रित भए पनि सिंगो चलचित्रलाई काँधमा बोक्ने मुख्य ‘बा’ को अनुहार भने अहिलेसम्म लुकाइएको छ।

यसअघि निर्माण पक्षले झरना थापा, सुहाना थापा, दिव्यदेव पन्त, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रिया शर्मा र शवि थापा जस्ता कलाकारहरूको नाम विस्तारै सार्वजनिक गरिसकेको छ। तर, मुख्य पात्रको रहस्य भने अझै खुलाइएको छैन।

मुख्य पात्रलाई किन अहिलेसम्म सार्वजनिक नगरिएको भन्ने कौतूहलतामाझ निर्देशक हरि लम्सालले सिनेमाको रहस्य बचाएर राख्न यसो गरिएको बताए।

उनले भने, ‘हामी यो सिनेमाका अन्य जानकारी र कलाकारहरूको विवरण विस्तारै सार्वजनिक गर्दै जानेछौँ, र हाम्रा मुख्य ‘बा’ को हुन् भन्ने कुरा पनि केही समयमै खुलाउनेछौँ।’

नेपाली संगीत क्षेत्रमा थुप्रै कालजयी गीतहरू दिएका संगीतकार, गायक तथा रचनाकार हरि लम्सालको फिचर फिल्म निर्देशनमा यो डेब्यु चलचित्र हो। आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको यस चलचित्रको कथा र पटकथा पनि लम्साल आफैँले लेखेका हुन्।

यस चलचित्रका निर्माता वसन्त लम्साल हुनुहुन्छ, जसले यसअघि अभिनेता विपिन कार्कीलाई लिएर चलचित्र ‘कर्मा’ निर्माण गरेका थिए।

शिवराम श्रेष्ठको छायांकन र तारानाथ न्यौपानेको मुख्य सहायक निर्देशन रहेको यस चलचित्रलाई कुवेर सिने डिस्ट्रिब्युसनका आशिष एच तामाङ र प्रदीप धामीले वितरण गर्ने जिम्मा लिएका छन्।

असार २, २०८३ मंगलबार १३:२८:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।