फिल्म हिट, क्रेडिट अरूलाई; फिल्म फ्लप, अपजस केकीलाई!

फिल्म हिट, क्रेडिट अरूलाई; फिल्म फ्लप, अपजस केकीलाई!

काठमाडौं : सदाबहार अभिनेत्री केकी अधिकारीका अधिकांश फिल्म फ्लप छन्। तर, अभिनयमा अब्बल केकी फिल्ममेकरको भने रोजाइमा पर्ने गरेकी छन्।

उनले अभिनय गरेका थोरै फिल्मले मात्र निर्माताको लगानी उठाए। अभिनेत्रीका रूपमा उतारचढाव भोगे पनि निर्माताका रूपमा भने दर्शकलाई उनले सफल फिल्म दिइन्। उनकै लगानीमा निर्माण भएका फिल्म ‘बोक्सीको घर’लाई दर्शकले निकै मन पराए।

अझ गत वर्षमात्रै उनको अभिनय रहेको ‘परान’ले निर्माताको लगानी सुरक्षित गर्यो। तर, व्यावसायिक सफलताका बाबजुद दर्शकले केकीलाई 'हिट फिल्मको क्रेडिट' दिन भने कञ्जुस्याइँ गरे।

फिल्म ‘बोक्सीको घर’मा दर्शकले सुलक्षण सापकोटालाई बढी नोटिस गरे भने गत वर्ष रिलिज भएको फिल्म ‘परान’मा नीर शाहलाई। परानले पाको उमेरका अभिनेता नीर शाहलाई फेरि 'हिरो'का रूपमा चर्चामा ल्याइदियो। उनको अभिनयले दर्शकलाई मोहित बनायो। 

फिल्मबाट महेश त्रिपाठी र अञ्जना बराइलीले पनि ठीकठाकै चर्चा पाए। कथा बलियो भएकाले निर्देशक दीपक आचार्यले पनि जस पाए। तर, १७ करोडभन्दा माथिको व्यापार गर्दै हलमा १०० दिन मनाउन सफल यो फिल्ममा केकी भने सहायक भूमिकामा मात्र सीमित भइन्। दर्शकले उनलाई नोटिस गरेको पनि देखिएन्। फिल्म सुपरहिट हुँदा पनि यसको श्रेय केकीको पोल्टामा पर्न सकेन।

गत वैशाख ८ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘काजी’ मा भने केकीको बलियो भूमिका थियो। रिलिजअघि उनको 'कजिनी' चरित्र र विपिन कार्कीसँगको अभिनयको निकै चर्चा भयो। तर, हलमा फिल्मको व्यापारको अवस्था भने 'हरिबिजोग' छ। 

चलचित्र विकास बोर्डले सार्वजनिक गरेको बक्स अफिस रिपोर्ट अनुसार, ‘काजी’ले दुई हप्तामा मात्र ९४ लाख रुपैयाँको व्यापार गरेको छ। लगानीका हिसाबले यो सुपरफ्लप हो।

सामान्यतया एउटा नेपाली फिल्मको सुटिङदेखि हलसम्म लैजादा करिब २ करोड खर्च हुन्छ। यो लगानी सुरक्षित गर्न फिल्मले कम्तीमा ६ करोडको ग्रस कलेक्सन गर्नुपर्छ। तर, काजीले १ करोडको आँकडा पनि छुन सकेन। विपिन र केकीको जोडीलाई हेर्न दर्शक हलसम्म पुग्दै पुगेनन्।

१४ हजार दुई सय ६९ जना दर्शक बटुल्न विपिन र केकीलाई हम्मे हम्मे पर्यो। 

लगातारका व्यावसायिक असफलतापछि अब सबैको नजर असोज २ गते देखि प्रदर्शनमा आउने केकीको आगामी फिल्म ‘झिँगेदाउ’ मा टिकेको छ।

'काजी' को असफलतालाई बिर्साउँदै केकीले ‘झिँगेदाउ’ मार्फत "अहो, केकीको अभिनय र फिल्मले गज्जब गर्यो!" भन्ने दिन आउँला? अब फिल्म क्षेत्र र दर्शक दुवैका लागि पर्खाइ त्यसैको छ। 

जेठ २५, २०८३ सोमबार १५:५९:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।