निखिल जी! ‘आचार्य’मा सञ्जय दत्त र सुनील शेट्टी खै?
काठमाडौं : नेपाली फिल्मका कलाकारहरू कहिलेकाहीँ मिडिया र दर्शकलाई मज्जैले झुट बोलेका कयौं उदाहरण छन्। नपत्याए पछिल्लो समय एक्सन स्टार निखिल उप्रेतीलाई हेरे पुग्छ।
गत असारमा निखिलले आफ्नो निर्देशनमा बन्न लागेको फिल्म ‘आचार्य’ मा बलिउडका लोकप्रिय अभिनेताहरू सञ्जय दत्त वा सुनील शेट्टीमध्ये एक जनालाई अभिनय गराउने भन्दै ठूलै हल्ला फिँजाएका थिए।
उनले दुईमध्ये एक बलिउड स्टारसँग ‘केमियो रोल’का लागि कुरा भइसकेको दाबी गर्दा मिडियाले पनि यस समाचारलाई निकै प्राथमिकताका साथ स्थान दिए पनि।
अहिले नेपाल र भारतमा फिल्मको छायाङ्कन सकिएर निर्माण टिमले प्रदर्शन मिति घोषणा गर्ने तयारी गरिरहेको बुझिएको छ।
तर, फिल्ममा न ती बलिउड स्टारहरूको कतै उपस्थिति देखिन्छ, न त उनीहरूको बारेमा अहिले चर्चा नै छ।
शीर्ष भूमिकामा निखिल स्वयं र पूर्णिका सिजापति देखिने यस फिल्ममा आखिर ती बलिउड स्टारहरू खै त?
कतै निखिलले फिल्मको सस्तो प्रचारका लागि मात्रै बलिउड स्टारको कार्ड फालेका त होइनन्? कि दर्शकलाई हलसम्म तान्न सुटुक्क उनीहरूको दृश्य खिचेर अन्तिममा ‘सरप्राइज’ दिन खोजेका हुन्?
जे होस् निखिल जी, हल्ला फिँजाएर दर्शकलाई झुक्याउनुभन्दा बलियो कन्टेन्ट पस्किएर हलसम्म तान्नु नै बुद्धिमानी होला। किनभने यो फिल्म तपाईंको लामो समयपछिको कमब्याक पनि हो।
विगतका उदाहरण हेर्ने हो भने नेपाली फिल्ममा भारतीय कलाकार राख्दैमा फिल्म चलिहाल्छ भन्ने कतै ग्यारेन्टी छैन।
भर्खरै अभिनेत्री तथा निर्मात्री नीता ढुङ्गानाले बलिउड र साउथका चर्चित स्टारहरू प्रदीप रावत, ब्रह्मानन्दम, सुनील वर्मा, अली र कवीर दुहान सिंहलाई लिएर ठूलो लगानीमा ‘ह्रस्वदीर्घ’ बनाइन्। तर, बक्स अफिस रिपोर्ट हाँस्न सकेन।
जेठ २१, २०८३ बिहीबार १३:४७:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।