‘एक मुठी बादल’ को बक्स अफिसमा कमजोर प्रदर्शन, आँचललाई अब ‘झिँगेदाउ २’ को आस
काठमाडौं : अभिनेत्री आँचल शर्मा अभिनित चलचित्र ‘जेरी अनटप’ बक्स अफिसमा व्यावसायिक रूपमा सफल रह्यो। करिब ६ महिना लगाएर खिचिएको उक्त चलचित्रले १२ करोड २८ लाख ८४ हजार रुपैयाँभन्दा बढीको ग्रस कलेक्सन गर्दै वर्षकै तेस्रो धेरै कमाउने फिल्मको सूचीमा स्थान बनायो।
तर, ‘जेरी अनटप’ को सुखद नतिजा लगत्तै प्रदर्शनमा आएको उनको अर्को मुख्य भूमिका रहेको फिल्म ‘एक मुठी बादल’ लाई भने दर्शकले पत्याइदिएनन्।
आफ्नो करिअरकै उत्कृष्ट अभिनय गरेको दाबी गरेकी आँचलका लागि ‘एक मुठी बादल’ को बक्स अफिस कलेक्सन निकै निराशाजनक बन्यो। चलचित्र विकास बोर्डको आधिकारिक बक्स अफिस रिपोर्ट अनुसार यो चलचित्रले मात्र ५ लाख २१ हजार ८ सय २५ रुपैयाँ कलेक्सन गर्न सक्यो।
नेपाली सिने वृत्तमा स्थापित अभिनेत्रीहरूले एउटा फिल्मबापत २० देखि ३० लाख रुपैयाँ हाराहारी पारिश्रमिक लिने चर्चा चल्छ। यही अनुपातलाई हेर्ने हो भने ‘एक मुठी बादल’ को कुल कलेक्सनले चलचित्रको लगानी त परै जाओस्, मुख्य अभिनेत्रीको पारिश्रमिक र प्रचारप्रसारको खर्च समेत धान्न सकेन। प्रिमियर शोमा अभिनेत्री आँचल जसरी झकिझकाउ पहिरनमा उपस्थित भएकी थिइन्, फिल्मको कुल कमाइले उनको त्यो पहिरनको भाडा समेत उठायो कि उठाएन होला भन्ने खालका टिप्पणी समेत हुन थालेका छन्।
‘एक मुठी बादल’ व्यावसायिक रूपमा फ्लप भएपछि अब आँचलको सम्पूर्ण ध्यान आफ्नो आगामी चलचित्र ‘झिँगेदाउ २’ तर्फ केन्द्रित भएको छ। दुई वर्षअघि बक्स अफिसमा सुपरहिट साबित भएको ‘झिँगेदाउ’ को सिक्वेल भएकाले पनि निर्माण पक्ष र अभिनेत्री शर्मालाई यस फिल्मबाट ठूलो अपेक्षा छ। पहिलो भाग हिट भएका कारण सिक्वेलले पनि दर्शक तान्ने विश्वासमा छिन् आँचल।
‘एक मुठी बादल’ले बक्स अफिसमा पानी पनि भन्न नपाएपछि आँचलका लागि कमब्याक गर्न अब ‘झिँगेदाउ २’ मात्रै एक सहारा रहेको छ।
जेठ २०, २०८३ बुधबार १७:२४:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।