‘मालती मंगले’ फ्लप भएपछि लगानी उठाउन अमेरिका उडे रामकृष्ण

‘मालती मंगले’ फ्लप भएपछि लगानी उठाउन अमेरिका उडे रामकृष्ण

काठमाडौं : डेब्यु निर्माण रहेको फिल्म ‘मालती मंगले’ फ्लप भएपछि निर्माता तथा गायक रामकृष्ण ढकाल अमेरिका उडेका छन्।

नेपाल प्रदर्शनबाट लागेको ठुलो आर्थिक घाटालाई अन्तर्राष्ट्रिय प्रदर्शनबाट उठाउने लक्ष्यसहित ढकाल अमेरिका उडेका हुन्।

गत वैशाख २५ गतेबाट नेपालभर प्रदर्शनमा आएको यो फिल्मले चलचित्र विकास बोर्डको बक्स अफिस अनुसार ५१ लाख ६३ हजार रुपैयाँ मात्र ग्रस कलेक्सन गरेको थियो। 

हलबाट फिल्म उत्रिसकेकाले अब यसको लगानी उठाउने एकमात्र विकल्प विदेश प्रदर्शन बनेको छ। समीक्षात्मक हिसाबले सकारात्मक प्रतिक्रिया पाए तापनि प्रमोशनका दौरान स्वयं ढकालले दिएका केही अभिव्यक्तिका कारण फिल्मलाई ब्याक फायर गरेको थियो।

फिल्मको अन्तर्राष्ट्रिय प्रदर्शनमा सहभागी हुन ढकाल आफैँ विभिन्न देश पुग्दैछन्। अमेरिकाबाट सुरु हुने उनको भ्रमण क्यानडा, अस्ट्रेलिया र युरोपसम्म पुग्नेछ। 

५ जुनमा अमेरिकाको बोस्टनमा र न्यु ह्याम्प्सपायरमा ६ जुनमा हुने यस फिल्मको प्रदर्शन तथा साङ्गीतिक कार्यक्रममा ढकाल र उनको टिम सहभागी हुनेछ। फिल्म नर्थ क्यारोलाइना, कोलोराडो र टेक्सास हुँदै जुनको तेस्रो साता क्यानडाको टोरन्टोमा प्रदर्शन गरिनेछ। साथै, ४ जुलाईमा अस्ट्रेलियाको सिड्नीमा यस फिल्मको ‘रेड कार्पेट प्रिमियर’ आयोजना गरिने छ।

यो अन्तर्राष्ट्रिय टुरमा गायक तथा निर्माता रामकृष्ण ढकालसँगै कार्यकारी निर्माता सागर ज्ञवाली सहभागी हुनेछन्। तर, फिल्मका मुख्य कलाकारहरू वर्षा राउत, विजय बराल र मेक्सम गौडेल भने नेपालमै रहनेछन्।

मुख्य कलाकार विजय बराल अर्को चलचित्र ‘सिन्दुरे जात्रा’को सुटिङका क्रममा हात मर्काएपछि हाल उक्त फिल्मको सुटिङ समेत रोकिएको छ।

फिल्ममा विजय बराल, वर्षा राउत, मेक्सम गौडेलका अलवा प्रकाश घिमिरे, सरिता गिरी, नरिन थापा, मान्सु सापकोटा, सुस्मा निरौला र सुनिल तामाङलगायतका कलाकारको अभिनय रहेको छ। 

रानी फिल्म्सको ब्यानर र युनि इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको यस फिल्ममा प्रकु पाण्डेय लेखन तथा निर्देशन रहेको छ। 

जेठ २०, २०८३ बुधबार १५:०९:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।