‘आ बाट आमा २’ मा उषा र सिम्रन आउट : पल शाहको दबाब कि उषाको व्यस्तता?

‘आ बाट आमा २’ मा उषा र सिम्रन आउट : पल शाहको दबाब कि उषाको व्यस्तता?

काठमाडौं : फिल्म उद्योगमा कुनै पनि फिल्म व्यावसायिक रूपमा सफल वा चर्चित भएपछि त्यसको सिक्वेल (अर्को भाग) बन्नु र त्यसमा पुराना कलाकारहरू नै दोहोरिनु स्वाभाविक मानिन्छ। विशेष गरी मुख्य कलाकारलाई त झन छुटाउने कुरै हुँदैन। 

तर, गत वर्ष प्रदर्शनमा आएको सामाजिक कथावस्तुमा आधारित फिल्म ‘आ बाट आमा’ को सिक्वेलमा भने भिन्न दृश्य देखिएको छ। यसै फिल्मबाट डेब्यु गरेका दुई मुख्य अभिनेत्रीहरू उषा उप्रेती र सिम्रन पन्त 'आ बाट आमा २' मा नदोहोरिने पक्का भएको छ। उनीहरू दोहोरिने फिल्मी वृत्तको अनुमान केवल चर्चामै सीमित बनेको छ।

उनीहरूको स्थानमा निर्देशक तथा लेखक चन्द्र पन्तले नयाँ अनुहारका रूपमा मलिका महत, रिश्ता गुरुङ र निकिता आचार्यलाई भित्र्याएका छन्।

अहिले फिल्म वृत्तमा मुख्य अभिनेत्रीहरू हटाइनुको कारण अभिनेता पल शाहसँग जोडिएर हेर्न थालिएको छ। नयाँ भित्रिएकी अभिनेत्री निकितासँग पलले यसअघि फिल्म ‘बुकुरो’ मा काम गरिसकेका छन् भने अर्की अभिनेत्री मलिका महत र पलको सहकार्य त निकै पुरानो र चर्चित छ।

म्युजिक भिडियोमा निकै चर्चित यो जोडीलाई दर्शक र स्वयम् पल शाहले सामाजिक सञ्जालमा ‘पिएम जोडी’ (पल–मलिका) को नाम दिएका छन्। उनीहरूबीच प्रेम सम्बन्ध रहेको हल्ला पनि चल्ने गर्छ। बजारमा चलेको गसिप अनुसार, पलले आफ्नै मुख्य भूमिका रहेको यस फिल्ममा मलिकालाई राख्न निर्माण पक्षलाई दबाब दिएका थिए, जसका कारण पुराना अभिनेत्रीहरू बाहिरिनु पर्यो। यो परिवर्तन पलको दबाब हो वा स्क्रिप्टको माग, त्यो त फिल्म रिलिज भएपछि नै थाहा हुनेछ।

फिल्मबाट हटाइएको चर्चा र हल्लाका बीच अभिनेत्री उषा उप्रेतीले भने सामाजिक सञ्जालमार्फत भावुक स्टाटस लेख्दै निर्माण टिमको बचाउ गरेकी छन्। उषाले आफ्नो व्यस्तताका कारण फिल्म छाड्नुपरेको दाबी गरेकी छन्।

"‘आ बाट आमा २’ मा पनि जोडिएर काम गर्ने मेरो ठुलो इच्छा र प्रयास थियो", उनले लेखेकी छिन्, "तर कहिलेकाहीँ इच्छा हुँदाहुँदै पनि समय र परिस्थितिले साथ नदिँदो रहेछ। ठ्याक्कै यही समयमा मेरा अन्य केहीपूर्व–प्रतिबद्धता (अन्य प्रोजेक्टहरू) परेका कारण समय व्यवस्थापन गर्न सकिनँ र यसपटक चलचित्रको हिस्सा बन्नपाइनँ।"

आफूले डेब्यु गरेको र करिअरकै मुख्य फिल्मको सिक्वेल समय अभावका कारण छोडेको भन्दै उषाले दर्शक र निर्माण टोलीसँग क्षमा समेत मागेकी छन्। उषाले व्यस्तताको कारण देखाए पनि मुख्य फिल्मबाटै डेब्यु गरेकी अभिनेत्रीले सिक्वेल छोड्नुमा भित्री 'गडबड' भने पक्कै रहेको फिल्म क्षेत्रमा चर्चा छ। 

जेठ २०, २०८३ बुधबार ११:१६:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।