अवार्ड विजेता ६ चिनियाँ फिल्मको नेपालमा प्रदर्शन, पहिलो प्रदर्शनका रूपमा ‘ट्रयाप्ड’

अवार्ड विजेता ६ चिनियाँ फिल्मको नेपालमा प्रदर्शन, पहिलो प्रदर्शनका रूपमा ‘ट्रयाप्ड’

काठमाडौं : नेपालमा बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा उत्कृष्ट घोषित भएका ६ चिनियाँ फिल्महरूको प्रदर्शन सुरु भएको छ। बिहीबारसम्म चल्ने यो महोत्सव ‘ट्रयाप्ड’ प्रदर्शन भएसँगै मंगलबारबाट सुरु भएको हो।

बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव प्रवर्द्धन कार्यक्रम ‘टियानतान अवार्ड प्यानोरामा’ अन्तर्गतको यस कार्यक्रममा पहिलो शो सागर झान निर्देशित चलचित्र ‘ट्रयाप्ड’ प्रदर्शनसँगै सुरु गरिएको छ। साथै कार्यक्रमको पहिलो दिन अन्य दुई फिल्म ‘बियोन्ड द स्काइज’ र ‘समर डायरी’ पनि प्रदर्शन गरियो।

ठमेलस्थित छाया सेन्टरमा आयोजित उद्घाटन कार्यक्रममा प्रमुख अतिथि नेपालका लागि चिनियाँ दूतावासका मिनिस्टर काउन्सिलर चउ पान, विशेष अतिथिहरू नेपालका लागि ब्राजिलका कार्यवाहक राजदूत सर्जियो काउटो, नेपालका वरिष्ठ निर्देशक तुलसी घिमिरे अतिथिहरू नेपालका कलाकार संघका अध्यक्ष उत्तम केसी, निर्देशक समाजका अध्यक्ष अरुण प्रधान,नेपाल चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जन,अभिनेता प्रमोद अग्रहरीलगायत अन्य चलचित्रकर्मीको उपस्थिति रहेको थियो।

चीन चलचित्र प्रशासन र बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवले नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानसँग सहकार्य गरेर कार्यक्रम गरेको हो। यस कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष केपी पाठकले स्वागत मन्तव्य राख्दै यस प्रकारका कार्यक्रमले नेपाल र चीनबीचको मैत्री सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गरे। यता मिनिस्टर काउन्सिलर पानले चलचित्र मनोरञ्जनको साधन मात्रै नभएको जिकिर गरे। उनले चलचित्रले सामाजिक, राजनीतिक र सामाजिक परिवेश बुझ्न सहयोग गर्ने बताउँदै दुई देशको सम्बन्धमा थप निकटता ल्याउने बताए।

कार्यक्रममा उपस्थित भएका नेपाली फिल्म निर्देशक घिमिरेले चिनियाँ बजारमा नेपाली फिल्म प्रदर्शन र वितरणमा सहयोग र सहकार्यको आवश्यक रहेको बताए। यसका लागि दुवैतर्फका सरकारले सहजीकरणका लागि ढोका खोलिदिनु पर्ने कुरामा जोड्दिए। 

काठमाडौंस्थित चिनियाँ सांस्कृतिक केन्द्रसहित त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय र लुम्बिनी बुद्धिस्टका कन्फुसियस इन्स्टिच्युटहरूको पनि सहयोग रहेको यस कार्यक्रम ठमेलस्थित छाया सेन्टरमा बिहीबारसम्म जारी रहने आयोजकले जानकारी दिएको छ।
 

जेठ १९, २०८३ मंगलबार २२:०९:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।