'इन्डियन डिरेक्टर'को निर्देशनमा वर्षा राउतको व्यावसायिक संकट टर्ला ?
काठमाडौं : अभिनेत्री वर्षा राउतका लागि अघिल्लो वर्ष झैँ यस वर्ष पनि व्यावसायिक रूपमा सुखद देखिएको छैन। उनी अभिनीत पछिल्ला दुई फिल्म बक्स अफिसमा असफल भएपछि अब उनको आशा आगामी फिल्म ‘आइएम जितु बहादुर’मा केन्द्रित भएको छ।
वर्षा अभिनीत हर्षले चलचित्र विकास बोर्डको बक्स अफिसमा २८ लाख कलेक्सन गर्यो। नवनिर्देशक एकता पौडेलद्वारा निर्देशित यो फिल्मले प्रचारप्रसार र पोष्टर छपाइको खर्चसमेत उठाउन सकेन।
समीक्षात्मक रूपमा समेत कमजोर मानिएको फिल्मको व्यावसायिक असफलताले वर्षाको करिअरमा कुनै सकारात्मक प्रभाव पार्न सकेन।
गत वैशाख २५ गतेबाट प्रदर्शनमा आएको वर्षाकै अर्को फिल्म ‘मालती मङ्गले’ले पनि दर्शकलाई हलसम्म तान्न सकेन। फिल्मका निर्माता तथा गायक रामकृष्ण ढकालले सहकारी ठगी प्रकरणमा मुछिएका व्यक्तिबारे दिएको विवादास्पद अभिव्यक्तिका कारण सामाजिक सञ्जालमा फिल्म बहिष्कारको अभियान चलेको थियो।
सोही विवादको असर फिल्मको व्यापारमा प्रत्यक्ष देखियो। वर्षाको निकै अपेक्षा रहेको यो फिल्मले प्रदर्शनको तेस्रो हप्तासम्म पनि ५० लाख रुपैयाँको बक्स अफिस कलेक्सन गर्न सकेन। समीक्षात्मक हिसाबले उत्कृष्ट अभिनय गरेकी वर्षाको यस फिल्मको चर्चा भयो, तर व्यापार भएन।
पछिल्ला समय प्रदर्शनमा आएका फिल्मले व्यावसायिक रूपमा अफल बनेकी वर्षालाई अब प्रदर्शनको तयारीमा रहेको फिल्म ‘आइएम जित बहादुर’ आस नहुने कुरै भएन। नेपाली फिल्म निर्देशकको विश्वास नलागेर भारतबाट झिकाइएका निर्देशकले निर्देशन गरेको यो फिल्मका निर्माता जितु नेपाल हुन्।
छक्का पञ्जा टिममा रहँदा सर्वाधिक हिट बनेका जितुले निर्माण गरेको यो फिल्म पक्कै नराम्रो हुने कुरा भएन। किनभने उनी आफै पनि टेलिफिल्म तथा विभिन्न विज्ञापनमा आफ्नो निर्देशकीय क्षमता देखाइसकेका कलाकार हुन्। भारतीय निर्देशकको निर्देशनमा परेकी वर्षालाई ‘आइएम जित बहादुर’कसो न उकास्ला ? त्यसका लागि आगामी असार ५ गतेसम्म पर्खिन पर्ने हुन्छ।
जेठ १९, २०८३ मंगलबार १९:४३:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।