‘आइएम जित बहादुर’को प्रमोसनमा एक्ला परे जितु : हिरोइनहरूसँग चित्त दुखाइ

‘आइएम जित बहादुर’को प्रमोसनमा एक्ला परे जितु : हिरोइनहरूसँग चित्त दुखाइ

काठमाडौं : नेपाली फिल्म क्षेत्रमा एउटा प्रवृत्ति छ- अरूको फिल्म प्रदर्शन हुँदा वास्ता नगर्ने, तर आफ्नो फिल्मको प्रमोसनमा ‘साथ, सहयोग पाइएन’ भनेर हारगुहार गर्ने। तर, यसरी साथ नपाएको भनेर रोइलो गर्ने कलाकार, निर्माता र निर्देशकहरूको सामाजिक सञ्जालमा हेर्ने हो भने, आफ्नै तस्बिर र भिडियोबाहेक अरू फिल्म प्रचार सामग्री विरलै देखिन्छन्।

कसै-कसैले आफ्ना निकटका मान्छेका फिल्मका पोस्टर वा ट्रेलर सेयर गरे पनि बाँकी समय उनीहरू गुमनाम नै रहन्छन्। तर, आफूलाई अप्ठ्यारो पर्दा भने उनीहरू गुनासो गर्न पछि पर्दैनन्।

आगामी असार ५ गतेबाट रिलिज हुन लागेको फिल्म ‘आइएम जित बहादुर’का निर्माता, अभिनेतालाई आफ्नै कलाकारले साथ नदिएको भनेर मिडियामा गुनासो पोखेका छन्। अरूको फिल्म प्रदर्शनमा आउँदा खासै वास्ता नगर्ने अभिनेता जितु नेपालको चित्त दुखाई निर्माता बनेपछि आफ्नै फिल्मका कलाकारसँग गहिरिएको छ। 

फिल्मका कलाकार वर्षा राउत र प्रियंका कार्कीबाट फिल्मको प्रमोसनमा साथ नपाएको उनको रोइलो छ। एक अन्तरवार्तामा प्रियंका र वर्षासहित जाने बिचारमा रहेका उनी एक्लै परेपछि मन कुँड्याएका हुन्। हत्तपत्त जान हिचकिचाउने एक कार्यक्रममा दुवै कलाकार अनुपस्थित रहे। यद्यपि, उनीहरूले सोही कार्यक्रम मात्रै टारेका हुन् वा फिल्मको प्रमोसनमा नै नआएका हुन् भन्ने विषयमा प्रष्ट छैन।

"मैले केही चिज फ्याट्ट पठाउँदा सेयर पनि गर्दैनन्," उनले दुवै हिरोइनलाई इंकित गर्दै भन्छन्, "मैले पठाउनै पर्दैन नि एउटा कलाकारलाई त।" 

प्रियंका कार्कीको फेसबुक र पेज हेर्ने हो भने चार वर्षअघि रिलिज भएको रामबाबु गुरुङ निर्देशित फिल्म ‘फूलबारी’सेयर गरेकी छन्। त्यस यता उनको फेसबुक वालमा खासै फिल्मको पोस्टर देखिँदैनन्। आफ्नो, छोरी र श्रीमानको बाहेक कुनै प्रचार गरेको देखिँदैन।

तर वर्षा राउतले भने फिल्म ‘आइएम जित बहादुर’को ट्रेलर, गीत रिलिज हुँदै छ भन्ने जानकारी दिने केही पोस्टर फेसबुकमा सेयर गरेको देखिन्छ। वर्षासँग प्रमोसनको समयमा सञ्चारमाध्यमलाई अन्तरवार्ता दिएर प्रचारमा सहयोग गरिदिन अपेक्षा उनले राखेको हुन कि भन्ने अनुमान गरिएको छ।

प्रचार-प्रसारका लागि युट्युब वा सञ्चारमाध्यममा अन्तर्वार्ता दिन नजानु एउटा पाटो होला, तर उनले सामाजिक सञ्जालमा फिल्मका केही पोस्टरहरू भने सेयर गरेकी छन्।

प्रियंका कार्कीको हकमा भने वर्षाको जति पनि सक्रियता पाइएको छैन। आफ्नै फिल्म ‘मास्टर्नी’लाई पोस्टर लन्चमै ‘ब्लकबस्टर’को संज्ञा दिइसकेकी प्रियंकाले जितुको फिल्मलाई बेवास्ता गरेको देखिन्छ। सायद आफ्नै फिल्मको सफलतामा ढुक्क रहेकी प्रियंकालाई सहकर्मीको फिल्म प्रचारमा जोडिनु आवश्यक नलागेको हुन सक्छ। 

जेठ १९, २०८३ मंगलबार १७:५५:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।