पल र मलिकाको जोडी फेरि पर्दामा : आइतबार सम्झौता, सोमबारै सुटिङ सुरु!
काठमाडौं : पल शाह र मलिका महतको अन-स्क्रिन जोडीलाई दर्शकले सधैँ निकै रुचिपूर्वक हेर्ने गरेका छन्। यसैबीच, यो चर्चित जोडी फेरि एकपटक पर्दामा रोमान्स गर्न तयार भएको छ।
अभिनेत्री मलिका महत चलचित्र ‘आ बाट आमा २’ मा औपचारिक रूपमा अनुबन्ध भएसँगै निर्माण टिमले सोमबार बिहानैबाट सुटिङको श्रीगणेश गरेको छ।
सुटिङ सुरु हुनुभन्दा ठीक एक दिन अघि अर्थात् आइतबार मात्रै मलिकालाई मुख्य अभिनेत्रीका रूपमा भित्र्याइएको थियो। चित्लाङ र काठमाडौंको सुटिङ सकिएपछि बाँकी सुटिङ लन्डनमा हुने निर्देशक चन्द्र पन्तले बताए।
एक महिनाको तालिका राखेर थालिएको यो चलचित्रमा पल र मलिकाका अलावा अन्य कलाकारहरू पनि छन्।
लामो समयपछि पर्दामा देखिन लागेकी सदाबहार अभिनेत्री विपना थापा, चकलेटी नायक आकाश श्रेष्ठ, सबिन श्रेष्ठ, गजित विष्टका साथै सामाजिक सञ्जालमा कथा वाचनका लागि लोकप्रिय बनेका साइग्रेस पोखरेल पनि यस चलचित्रमा देखिनेछन्। यसका साथै रिश्ता गुरुङ, निकिता आचार्य, प्रदीप रावत र नरेन खड्काको पनि मुख्य अभिनय रहनेछ।
आगामी दसैँको अवसर पारेर असोज ३० गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको यो चलचित्र गत वर्ष रिलिज भएको ‘आ बाट आमा’ को सिक्वेल हो।
आर्या इन्टरटेनमेन्टको ब्यानरमा बनिरहेको यस चलचित्रको कथा र पटकथा निर्देशक पन्त स्वयंको हो। नेपालभर आरआर फिल्म्सले वितरण गर्ने यस चलचित्रको डिजिटल अधिकार ओएसआर डिजिटलले सुरक्षित गरिसकेको छ।
जेठ १९, २०८३ मंगलबार ११:२८:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।