दुई दशकपछि उत्तम र निरुता जोडीको रूपमा फिल्ममा कमब्याक!
काठमाडौं : डेढ दशकअघि नेपाली फिल्ममा उत्तम प्रधान, निरुता सिंहको जोडीका फिल्मलाई खुबै रुचाइन्थ्यो। उत्तम, निरुता र दिलिप रायमाझीको मुख्य भूमिका रहेको फिल्म ‘दर्पणछाया’ हिट भयो। यो फिल्म सन् २००१ मा रिलिज भएको थियो।
दृष्टिविहीनको भूमिकामा देखिएका उत्तम र निरुताको माया प्रेमको भावलाई दर्शकले अत्यधिक रुचाए। ‘दर्पण छाया’पछि ‘लहना’, ‘मलाई माफ गरिदेऊ’, ‘यो कस्तो प्रेम’, उपहार’सम्म निकै फिल्ममा सहकार्य गरे।
दर्शकले उनीहरूको जोडीलाई रुचाए पनि। निरुता र उत्तमको फिल्म भनेसि दर्शकमा बेग्लै उत्साहको चार्म थियो। अब उत्तम र निरुताको जोडी २० वर्षपछि पुन सहकार्य गरेका छन्। तारा थापा किम्भे निर्माता रहेको फिल्म ‘सारथि’मा दुवै जनालाई यो फिल्ममा जोडेका छन्।
निरुता सिंहका अनुसार उनीहरू फिल्मको पर्दामा २० वर्षको ग्यापमा देखिँदै छन्। उत्तम र निरुताको मुख्य भूमिका रहेको यो फिल्मको गुर्जा खानी सेड्युलको छायांकन सकिएको हो। गत वैशाख १५ गतेबाट छायांकन सुरु भएको फिल्मको एक महिनामा गुर्जा खानीको सम्पूर्ण छायांकन सकिएको निर्माता तारा थापा किम्भेले जानकारी दिए।
यस फिल्ममा उत्तम र निरुतासहित मुकुन्द श्रेष्ठ, राजेन्द्र केसी, गिरी विश्वकर्मा, गायत्री जोशी, मदन थापा, सम्रान्त थापा, मिलन खड्का, रश्मि गुरुङ, कल्पना थापा, आशा विश्वकर्मा, सन्तोष दाहाल, विप्लव खड्का, सागर कंडेल र धिरेन मोक्तानको पनि अभिनय रहेको छ।
किम्भे प्रोडक्सन तथा धीरज इन्फिनिटी फिल्मस्को सहकार्य रहेको सिनेमाका निर्माता तारा थापा ‘किम्भे’ र सौर्यल थापा हुन्। धिरज तामाङ र बेक बहादुर विश्वकर्मा सहनिर्माता तथा प्रदीप रायमाझी र दीप श्रेष्ठ कार्यकारी निर्माता अनि अमिर केसी लाइन प्रोड्युसर हुन्।
फिल्मको छायांकन संकल्प भुजेलले गरेका हुन्। निरुता र उत्तमको फिल्मको पर्दामा मात्रै २० वर्षभन्दा धेरै भएको हो। म्युजिक भिडियोमा भने निरुता र उत्तमले दुई वर्षअघि सहकार्य गरेका थिए। ‘यो जुनी यस्तै’को गीतको भिडियोमासँगै देखिएका थिए।
जेठ १८, २०८३ सोमबार २२:२०:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।