लालीबजारले मात्र सुरक्षित गर्‍यो लगानी, मितज्यूको सुखद सुरुवात

लालीबजारले मात्र सुरक्षित गर्‍यो लगानी, मितज्यूको सुखद सुरुवात

काठमाडौं : चलचित्र विकास बोर्डले हलमा प्रदर्शनरत नेपाली फिल्मको बक्स अफिस रिपोर्ट सार्वजनिक गरेको हो। 

बक्स अफिस रिपोर्टअनुसार अभिनेत्री स्वस्तिमा खड्का अभिनीत फिल्म ‘लालीबजार’ ७ करोड ९० लाख रुपैयाँ ग्रस कलेक्सन गर्दै शीर्ष स्थानमा रहेको छ।

गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको यम थापाद्वारा निर्देशित यस फिल्मलाई शनिबारसम्म २ लाख ६९ हजार २०२ जना दर्शकले हेरेका छन्। बोर्डको तथ्याङ्कअनुसार फिल्म चालू वर्षकै सर्वाधिक कमाइ गर्ने फिल्म बनेको छ। प्रदर्शनको समयमा अदालती झमेला व्यहोरेको फिल्म ‘लालीबजार’लाई दर्शकले साथ दिएका छन्।

त्यस्तै, वैशाख ११ गतेदेखि प्रदर्शनमा आएको प्रकाश सपुत र सुहाना थापा अभिनीत फिल्म ‘परालको आगो’ कमाइका आधारमा दोस्रो स्थानमा छ। लक्ष्मण सुनारको निर्देशन र सुशील पोखरेलको लगानी रहेको फिल्मले १ लाख ५४ हजार ३४ वटा टिकट बिक्री गर्दै ४ करोड २७ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ।

त्यस्तै, वैशाख २५ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘मालती मंगले’ले ५१ लाख रुपैयाँ ग्रस कमाएको छ। फिल्मको यो कमाइ १६ हजार १८८ वटा टिकट बिक्रीबापत भएको हो।

जेठ १ गते प्रदर्शन भएको सुरक्षा पन्त अभिनीत फिल्म ‘लाइफ ड्यामेज’ले भने १० हजार ८५५ वटा टिकट बिक्री गर्दै ३३ लाख रुपैयाँ ग्रस व्यापार गरेको छ। 

गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘मितज्यू’ले शनिबारसम्म  ४१ हजार २४८ वटा टिकट बिक्री गरेको छ। उक्त टिकट बिक्रीबाट १ करोड २० लाख रुपैयाँ ग्रस कलेक्सन गरेको हो।

जेठ ८ गतेबाट नै प्रदर्शनमा आएको ‘काजी’को कमाइ भने ५० लाख पनि छैन। १३ हजार ७ वटा टिकट बिक्री भएको यो फिल्मको गत शनिबारसम्मको कमाइ ४० लाख रुपैयाँ ग्रस रहेको छ।

यसरी हेर्दा हाल प्रदर्शनरत ६ वटा नेपाली फिल्मले कुल १४ करोड ६४ लाख रुपैयाँ ग्रस कमाएका छन्। यसमध्ये ‘लालीबजार’ले मात्र पूर्ण रूपमा आफ्नो लगानी सुरक्षित गरेको छ।

जेठ १८, २०८३ सोमबार २१:३०:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।